काठमाडौं – वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो। कलाकार कृष्ण मल्लका अनुसार आज विहान घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको मल्लले रातोपाटीलाई जानकारी दिए ।
बिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुगेका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ । बा३च ७७४१ नंको कार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए ।
लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशील थिए । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।
विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए। विभिन्न विद्यालयमा उहाँ सङ्गीत गुरुका रूपमा क्रियाशिल थिए । प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज लगेको छ । शव परीक्षणपछि उनकै निवासमा श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ । उनका श्रीमती र दुई छोरा छन् ।