Tuesday 5th November 2024

    ५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा पाउन निर्माता संघको सदस्य हुनै पर्ने    सरकार ढल्ने दिवा सपना नदेखे हुन्छः प्रधानमन्त्री    कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारी गर्दै नेकपा (माओवादी केन्द्र)    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु

प्रचण्ड भन्छन् ,अमेरिकाले साझेदारलाई युद्धमा होम्ने तयारी गर्दैछ

Tuesday, December 28, 2021 National Power

काठमाडौं –  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले नयाँ युद्धको तयारी गरेको बताएका छन् । अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको प्रचण्डको भनाइ छ । प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेका हुन् ।

हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गरेको भन्दै प्रचण्डले विभिन्न देशमा सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजनामा अमेरिका रहेको जनाएका छन् । अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुको पछाडि पनि त्यही रणनीतिले काम गरेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा लेखिएको छ, ‘अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ । नयाँ शीतयुद्धका रुपमा देखापरेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर साम्राज्यवादले आफ्नो संकटमोचनको दिशामा अगाडि बढ्दैन भन्न सकिने स्थिति छैन ।’

शीतयुद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको प्रचण्डको ठहर छ । हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको भन्दै प्रचण्डले भनेका छन्, ‘बाइडन प्रशासनले अमेरिका र चीन बीचको संघर्ष लोकतन्त्र र निरंकुशताको लडाइँको रुपमा लिएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ ।’