काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन आफूहरुको रहर नभइ बाध्यता भएको बताए । उनले गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध प्रदर्शन गरेको श्रेष्ठको भनाइ थियो ।
प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।