Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, माधव नेपाल पक्ष पनि सहभागी

Wednesday, July 28, 2021 National Power

काठमाडौं -सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी छ । बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहको समेत प्रतिनिधित्व छ । नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी रहेको बालुवाटार स्रोतले बतायो । यद्यपि एमाले सरकारमा जाने/नजाने विषय अझै एकीन हुन सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री छन् ।

अब जनता समाजवादी पार्टी (जसपा)लाई समेत समेटेर मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको प्रधानमन्त्री देउवा निकट एक नेताले बताए । ती नेताले भने, ‘जसपाको आधिकारिकता सम्बन्धी विवाद मिलिसकेकाले अब मन्त्रिपरिषद विस्तार हुन्छ । त्यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो ।’

निर्वाचन आयोगले गत सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।