Thursday 14th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

नौ दिनको अन्तरमा दुई चक्रवात, मनसुनमा सरदरभन्दा बढी पानी पर्ने

Wednesday, May 26, 2021 National Power

नौ दिनको अन्तरमा दुई चक्रवात, मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
काठमाडौं – अरब सागरमा विकसित ‘ताउ ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ आयो । प्रि-मनसुन अवधिको मे महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि पर्‍यो । ताउ तेबाट नेपालको पश्चिमी क्षेत्र र यासबाट पूर्वी क्षेत्र बढी प्रभावित भयो ।

नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली बिरलै विकसित हुने वरिष्ठ मौसमविद मणिरत्न शाक्य बताउँछन् । ‘मेरो अध्ययनमा यति छोटो अवधिमा चक्रवात आएर मौसमलाई प्रभाव पार्ने कमै हुन्छ,’ त्रिविमा प्राध्यापनरत शाक्यले भने ।

पूर्वीमध्य अरब सागरमा विकसित ताउ–ते चक्रवातको असर नेपालमा २ जेठदेखि नै परेको थियो । त्यसको प्रभावले हुरी बताससहितको मध्यम खालको वर्षा र उच्च हिमाली भागमा हिमपात भएको थियो । ताउ–ते सकिएलगत्तै आएको यास चक्रवातको प्रभावले अहिले पूर्वी नेपालका जिल्लाहरुमा पानी परिरहेको छ र यो क्रमशः पश्चिम सर्ने क्रममा रहेको मौसमविद प्रतिभा मानन्धर बताउँछिन् ।

जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गरी बुधबार र बिहीबार प्रदेश १ देखि कर्णाली प्रदेशका जिल्लासम्म हल्कादेखि मध्यम खालको वर्षा र हिममात हुने जनाएको छ । बुधबार राति प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षा र बिहीबार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानमा भारी वर्षाको सम्भावना छ । ताउ ते र यास चक्रवातको विकसित मौसमी प्रणालीको कारण पानी पर्दा नेपालीहरुले सुख्खा समयमा राहत महसुस गरेका छन् ।

कहिलेकाहिँ यस्ता चक्रवातले मनसुनमा प्रभाव पार्ने गर्दछन् । यसको प्रभावले मनसुन ढिलो वा चाँडो सुरु हुने गर्दछ । तर, अहिले नै मनसुन आगमनबारे निष्कर्ष निकाल्न भने नसकिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धर बताउँछिन् । ‘अहिले मनसुनको गतिविधि बिस्तारै विकास हुँदै गएको त छ तर यी दुई चक्रवातलाई मात्रै हेरेर मनसुन आगमनको समय निश्चित गर्न सकिंदैन ।’

दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने सिस्टम भनेको प्रशान्त महासागरमा देखिने अलनिनो र लानिनो गतिविधि हो । समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई अलनिनो भनिन्छ । यसो हुँदा दक्षिण एसियामा कम वर्षा हुन्छ । अलनिनोको ठिक उल्टो लानिनो हो । अर्थात् समुद्रको पानी औसतभन्दा चिसो भयो भने त्यसलाई लानिनो भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ ।

वरिष्ठ मौसमविद मणिरत्न शाक्यका अनुसार एक हप्तायता प्रशान्त सागरको तापक्रम औसत देखिएको छ । यसो हुनु दक्षिण एसियाली देशका लागि राम्रो संकेत भएको उनी बताउँछन् । दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे छलफल तथा विश्लेषण ‘साउथ एसियन आउटलुक फोरमले गर्दछ । त्यसको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालको मनसुनी अवस्थाबारे जानकारी दिन्छ । यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने निष्कर्ष निकालिएको छ ।

जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण विभाग प्रमुखसमेत रहेकी वरिष्ठ मौसमविद डा। इन्दिरा कँडेलका अनुसार यस वर्षको मनसुनमा नेपालको अधिकांश भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ ।

यो सम्भावना स्थान विशेषअनुसार फरक छ । हिमाली भेग बढी र पहाडी भेगतिर अलि कम छ । तराईका क्षेत्रमा सरदर वर्षा हुने अनुमान छ । प्रदेश १ को दक्षिण भाग र प्रदेश २ को पूर्वी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना औंल्याइएको छ ।

सन् १९९१ देखि सन् २०२० सम्मको अवधिलाई हेर्ने हो भने नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ र मनसुन बाहिरिने औसत समय अक्टुबर २ देखिन्छ । यसअघि जुन १० मा मनसुन सुरु हुने र सेप्टेम्बर २३ मा बाहिरिने भनिन्थ्यो ।