Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात

Saturday, May 1, 2021 National Power

काठमाडौं -काठमाडौं उपत्यकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

मन्त्रालयको शुक्रबारकै तथ्यांकअनुसार हाल ३६ हजार १३५ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २६७८ जना छन् भने आईसीयूमा ३३१ र भेन्टिलेटरमा ११५ जना छन् । यति संक्रमित हुँदा नै अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भनेर सरकारले हात उठाउनु नालायकीपन भएको र यसले जनतामा त्रास मात्र फैलाउने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘यस्तो गैरजिम्मेवारी पूर्ण कुरा मैले अहिलेसम्म कुनै पनि देशमा सुनेको छैन ।’उनका अनुसार स्वास्थ्य मन्त्रालयले यो गैरजिम्मेवारीपूर्ण सूचना जारी गर्दैगर्दा हाम्रो स्वास्थ्य प्रणालीको क्षमता कति छ रु भन्ने कुरामा पनि हेर्नुपर्ने हुन्छ । ‘तर यसमा केवल स्वास्थ्य मन्त्रालयको मात्रै दोष होइन, सिंगै राज्य संयन्त्रले यो क्षेत्रलाई लामो समयदेखि गरेको बेवास्ताको परिणाम हो,’ ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख समेत रहेका उनले भने ।

संक्रामक रोग विषेशज्ञ डा. अनुप सुवेदी पनि लकडाउन गरेको सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा पनि दिनसक्दिन भन्न नपाउने बताउँछन् । भन्छन्, ‘अझ जनताले चुनेर पठाएका प्रतिनिधिले त झनै यस्तो भन्ने अधिकारै छैन ।’ सरकारले आजको भोलि नै आईसीयूको शय्या बढाउन नसकेपनि सरकारले चाहने हो भने ठूलो आइसोलेसन सेन्टर बनाएर राख्न सक्ने उनले बताए ।

तर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी भने सरकारले हात उठायो भन्न नमिल्ने तर्क गर्छन् । ‘केही जिल्लाहरुमा एकदमै गाह्रो भइसकेको छ । अरु ठाउँमा पनि बेड उपलब्ध गराउन नसक्ने गरी गाह्रो हुन लागेको भनेर हामीले यर्थाथ जे हो त्यही भनेका हौं’ अधिकारीले भने ।