हिजोआज विभिन्न उमेरसमूहका व्यक्तिहरुमा घाँटी दुख्ने, ज्वरो आउने, रुघाखोकी जस्ता समस्या धेरै देखिन थालेको छ । एकातिर यो समस्या बढ्दैछ भने अर्काेतिर कोरोनाका संक्रमितहरुको संख्या समेत यही समयमा बढेका कारण यो लक्षण कतै कोरोनाकै संकेत त होइन ? भन्नेमा धेरैलाई चिन्ता बढ्ने गरेको छ । अहिले सरकारले कोरोनाका कारण शहरी भेगका विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ भने अन्य ठाउँमा पनि स्वास्थ्य मापदण्ड पालना गर्न भनेको छ । तर के अहिले देखिएको स्वास्थ्य समस्या र कोरोनाका बीचमा सम्बन्ध छ त ?
नयाँ भेरियन्टको कोरोना लागेका मान्छेमा जटिल अवस्थामा नपुगेसम्म लक्षण नदेखिने गरेको विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । त्यसैले कोरोना हो या मौसमी फ्लु भन्ने पत्ता लगाउँदा लगाउँदै समस्या बढ्न सक्ने भएकोले अहिले जोखिम थपिएको जानकारहरु बताउँछन् ।
डा. उपाध्यायका अनुसार सामान्यतया फागुन/चैत महिना मौसम परिवर्तनको समय हो । जाडो मौसम परिवर्तन भएर गर्मी मौसम लागेसँगै विभिन्न ब्याक्टेरियाहरु सक्रिय हुने गर्छन् । जसका कारण विभिन्न स्वास्थ्य समस्याहरु निम्तिने गर्छन् ।
यो साल विभिन्न कारणले चैत/वैशाखमा समेत धेरै गर्मी नभएकोले प्रिमनसुनसँगै मौसमी फ्लुको प्रभाव देखिन थालेको जानकारहरु बताउँछन् । कतिपय बच्चा एवं किशोरहरु र कतिपय वयस्कमा समेत अहिले देखिएको समस्या यही मौसमी फ्लुका कारण सिर्जना भएको समस्या रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
सुख्खा मौसममा आउने हावाहुरी असिना आदिका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु आउने गर्छ । रुघाखोकी लाग्ने र घाँटी दुख्ने श्वासप्रश्वासमा समस्या हुने जस्ता समस्या समेत यही मौसमी फ्लुका कारणले हुने गर्छ । हावाहुरीका अलावा यो विभिन्न परजीवीहरुको लागि समेत अनुकूल मौसम हो । जसका कारण डेंगु जस्ता रोगको जोखिम पनि यही मौसममा बढी हुने गर्छ । वातावरणीय परिवर्तनका कारण अहिले पनि श्वासप्रश्वासजन्य र कीटजन्य रोगले स्वास्थ्य समस्या निम्त्याएको डा. उपाध्याय बताउँछन् ।
कोरोना महामारीले त्रास फैलाइरहेको बेलामा उस्तैउस्ता लक्षण देखिने मौसमी फ्लुका कारण अभिभावकहरूमा झनै त्रास थपिएको उनको बुझाइ छ ।
‘मौसमी फ्लु भए पनि हेलचेक्र्याइँ नगरौं’
डा. उपाध्याय अहिले विकास भएको नयाँ भेरियन्टको कोरोना भाइरसमा बिरामी जटिल अवस्थामा पुगेपछि मात्रै लक्षण देखिने गरेकोले मौसमी फ्लुलाई पनि बेवास्ता गर्न नहुने बताउँछन् ।
‘अहिले कोरोनाको लक्षण जोकोहीमा देखिँदैन र जटिल अवस्थामा पुगेपछि मात्रै त्यस्तो संकेत मिल्ने भएकोले मौसमी फ्लुका कारण त्यस्तो संकेत देखिँदा पनि चिकित्सकसँगको परामर्शमा जानुपर्ने अवस्था छ ।’ उनी भन्छन् ‘पहिलो भेरियन्टको कोरोनामा सुरुमा नै लक्षण देखिन्थ्यो । त्यसैले केही समय कुर्न पनि सकिन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन ।’
कसरी जोगिने यो समस्याबाट ?
अहिले मौसमी फ्लु हो कि कोरोना हो ? भन्ने जान्नको लागि अस्पताल नै जानुपर्ने अवस्था छ । म विदेशबाट आएका व्यक्ति वा शंकास्पद व्यक्तिको सम्पर्कमा छैन भनेर ढुक्क हुन सक्ने अवस्था पनि नरहेको डा. उपाध्याय बताउँछन् । अहिले धेरैमा कोरोनाको लक्षण नदेखिने गरेको भन्दै संक्रमितको पहिचान हुन नसक्ने भएकोले तीनै तहका सरकारले तयार पारेको स्वास्थ्य मापदण्ड पालना गर्नु नै उपयुक्त रोकथामको विधि रहेको उनी बताउँछन् ।
पहिलेको कोरोना बढी वृद्धवृद्धा र शरीरमा अन्य रोग भएकालाई बढी प्रभावित गर्ने खालको थियो । तर अहिले बच्चाहरुमा समेत उस्तै संक्रमणको जोखिम रहेको देखाएको छ ।
साथै युवावस्थाका व्यक्तिलाई समेत धेरै समस्या देखिएको छ । त्यसैले यसलाई स्वास्थ्य सतर्कता अपनाउने र त्यस्तो लक्षण देखियो भने चिकित्सकलाई सम्पर्क गरिहाल्नु पर्ने उनी बताउँछन् । साथै, घरबाट बाहिर निस्कँदा संक्रमण सर्ने जोखिम बढी हुने भएकोले बाहिर निस्कँदा बढी सतर्क हुनु जरुरी छ ।