Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

माधव नेपाल आक्रामक भएसँगै केन्द्र देखि प्रदेशसम्मको एमाले नेतृत्वको सरकार धरापमा

Saturday, April 17, 2021 National Power

काठमाडौं- कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस हुनुमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन बमोजिम भएको खुलिसकेको छ । फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वालाले पनि केन्द्रको निर्देशन अनुसार कठोर कदम चालेको बताइसकेका छन् । एमालेबाट ६ महिनाका लागि निलम्बित नेपालले यसपटक खुलेरै शक्ति प्रदर्शन गरे । यस क्रममा उनले कर्णालीमा आफू निकटस्थहरुलाई फ्लोर क्रस गर्न लगाए ।

कर्णालीमा २० जना नेकपा एमालेका सांसदमध्ये ९ जना माधव नेपाल पक्षधर थिए । बाँकी ५ जनाले फ्लोर क्रस गरेनन् । हिजोको घटनाबाट नेपालले आफू केन्द्र देखि प्रदेशसम्म एमाले नेतृत्वको सरकार ढाल्न सक्षम रहेको सन्देश दिएका छन् । केन्द्रमा ढुक्क बन्न नसकेका काँग्रेस सभापति शेरबहादुर देउवा पनि अब ओलीविरुद्ध अगाडि बढ्न विश्वस्त भएको बुझिएको छ ।

गण्डकी प्रदेशमा पनि ओलीनिकट पृथ्वी सुब्बा गुरुङ्गको सरकारविरुद्ध विशेष अधिवेशन डाकेर अविश्वासको प्रस्ताव दर्ता गरिने प्रक्रिया बढाइएको छ । गण्डकीमा एमालेबाहेकका काँग्रस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एकजुट भएर बढेमा गुरुङ्ग नेतृत्वको सरकार ढल्ने निश्चित छ । त्यहाँ फ्लोर क्रसको जरुरी पनि पर्दैन ।

लुम्बिनीमा पनि एमालेबाहेकका दल एकजुट भएमा मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढल्न सक्छ । तर, लुम्बिनीमा जसपा अनिर्णित छ । त्यहाँ जसपा जुनसुकै पक्षमा गएपनि एमालेबाट फ्लोर क्रसको सम्भावना देखिएको छ ।

प्रदेश १ मा शेरधन राई स्पष्ट बहुमतमा छन् । त्यहाँ एमालेको बहुमत छ । तर, कुनैपनि बेला अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ । काँग्रेस र माओवादी केन्द्र मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेमा नेपाल समूहका सांसदले फ्लोर क्रस गरेमा सरकार ढल्छ ।

बागमती प्रदेशमा माधव नेपाल समूहका सांसदहरुको बलियो पकड छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव काँग्रेस र माओवादी केन्द्र मिलेर ल्याएमा नेपाल समूहले कठोर कदम चालेर फ्लोर क्रस गरेमा सरकार ढल्न सक्छ ।

केन्द्र सरकारमा पनि काँग्रेस र माओवादी केन्द्र मिल्दा ११० सिट पुग्छ । अपुग २८ सांसदमध्ये जसपाको संख्या पर्याप्त छ । जसपा नमिलेमा पनि नेपाल समूहका सांसदले फ्लोर क्रस गरेमा ओली सरकार ढल्न सक्छ । कर्णालीको घटनाले त्यसो नहोला भन्न सकिदैन ।