अमेरीका -अमेरिकी स्पेस एजेन्सी नासाको मंगल ग्रहमा पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ले मंगल ग्रहको कलर फोटो पठाएको छ। ट्वीटका गर्दै यसले आफू नयाँ ठाउँमा रमाई रहेको जानकारी साझा गरेको छ।
३० जुलाईसम्म यो रोवर पृथ्वीमा थियो। ३० जुलाईमा यसका निर्माताहरुले यसलाई करोडौँ किमी टाढा सौर्यमण्डलको अर्को खगोलीय पिण्ड मङ्गल ग्रहतिर पठाएको थियो। झण्डै ७ महीने लामो यात्रा गरेर यो आफ्नो नयाँ गन्तव्य मङ्गल ग्रहको जेजेरो क्रेटरमा १९ फेब्रुअरीका दिन ओर्लेको थियो।
यस रोवरसँग २३ वटा विभिन्न किसिमका अत्याधुनिक प्रविधि सम्पन्न क्यामेरा रहेका छन् । यी क्यामेराबाट फोटो खिचेर रोवरले जेट प्रपोल्सन लेबोरेट्रीलाई पठाउने काम आउँदो दस वर्षसम्म गरिरहनेछ। रोवरमा रहेको कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टिेलिजेन्स) ले पहिला ती फोटो आफै हेर्छ । खिचिएका फोटोमा केही महत्वपूर्ण कुरा देखियो भने यसमा जडित कृतिम बौद्धिकताले आफ्नो हात (रोबोटिक आर्म) लाई त्यस फोटोमा देखिएको स्थलबाट नमूना उठाउन निर्देश दिनेछ। यस पर्सिवरेन्स रोवरले यसरी नमूना एकत्रित गरी रहनेछ । एकत्रित गरिएका यी सबै नमूना सामाग्री २०२४–२०२५ सम्ममा पृथ्वीमा ल्याइने योजना छ।
रोवरले पठाएको रंगीन तस्वीरमा मङ्गल ग्रहको जेजेरो क्रेटरको सतह देखिएको छ । रोवरले यो फोटो हैजर्ड क्यामेराबाट लिएको हो। रोवरमा दुइवटा माइक्रोफोन पनि जडान गरिएका छन्।
‘म अहिले आफूसँग रहेको हेलिकोप्टर चार्ज गरिरहेको छु । चार्ज हुनसाथ म हेलिकोप्टर उडाउछु,’ रोवरले ट्वीट गर्दै भनेको छ। नासाको यस रोवरले मंगल ग्रहमा अनेको वैज्ञानिक अनुसन्धान गरेर वैज्ञानिकहरुलाई मंगल ग्रहसँग सम्बन्धित जानकारी पठाइरहने छ। नासाको यो रोवर फगत यन्त्रमानव नभएर उच्च प्रतिभा सम्पन्न वैज्ञानिक पनि हो ।