‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयेजना गरिएको थियो । ०७६ मा नै आयोजना गर्नुपर्ने कार्यक्रम विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण रोकिएर अहिले गरिएको संयोजक अधिकारीले जानकारी दिए । साथै, आफू पनि उक्त भाइरसबाट संक्रमित भइ निको भएको उनले बताए । कर्यक्रमका अधिकारीले यसभन्दा अगाडिको कार्यक्रम काभ्रे जिल्लाको बनेपामा आयोजना गरिएको जानकारी दिए ।
उक्त कार्यक्रममा सङ्गीत क्षेत्रका विभिन्न ४८ विधामा अवार्ड वितरण गरिएको थियो । गायन तथा सङ्गीत क्षेत्रबाट मनोनयनमा परेकाहरूमध्येबाट सर्वोतकृष्ट भएकाहरूलाई अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा लोकदोहोरी गायक विष्णु खत्री, कृष्ण रेउले, गायिका जमुना राना, रमिला न्यौपाने, सविता परियार, मोडल दिपाशा बिसी, टिका जैसीले अवार्ड प्राप्त गरेका छन् । साथै, कार्यक्रममा कलासंस्कृति संरक्षणमा योगदान पुर्याएको भन्दै नुवाकोटको विदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिका एवम् जिल्ला समन्वय समिति र सहयोगी संस्था साकुरा कन्सल्टेन्सीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ सङ्गीतकार राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । उनलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । सोही क्रममा कला एवम् रङ्ग पत्रकारितामा कलाम चलाएर संस्कृति तथा संरक्षणमा सहयोग गरेको भन्दै पत्रकारहरू निमेष गौतम, बाबुराम सिग्देल, देवचन्द्र भट्ट, दीपज्योति थापा र राममणी ढकाल सम्मान गरेको थियो ।
पत्रकारलगायत विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै प्रमुख अतिथि नेता केसीले कलाकारहरू राष्ट्रका गहना भएको र सञ्चार माध्यमले पनि देश विदेशमा सन्देश दिएर थप चिनाउन मद्दत गरेको बताए । ‘कलाकारहरुले देशको सौन्दर्य बढाएका छन्, जहाँ पनि गीत सङ्गीतको आवश्यकता पर्दछ र पत्रकारहरूले पनि विभिन्न सञ्चार क्षेत्रबाट कलम चलाएर देशविदेशमा सन्देश दिएर कलाकारहरूलाई चिनाउन मद्दत गरेका छन्’, उनले भने ।
नेता केसीले नुवाकोट आफ्नो गृह जिल्लामा कार्यक्रमको आयोजना गरेर कलाकारहरूलाई अवार्ड वितरण गरेकोमा आयोजकप्रति गर्वको महसुस भएको जनाउँदै आगामी वर्षहरूमा पनि कलाकारहरूलाई जिल्लामा यसरी नै स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरे ।