Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

Tuesday, February 9, 2021 National Power

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सो आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग थापाले भने, ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो । प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनु भएको छ ।’

प्रधानमन्त्री ओली निर्वाचनको तयारीबारे जानकारी लिन आयोगको कार्यालय कान्तिपथ पुगेका थिए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको लागि आवश्यक बजेट, बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयमा जानकारी गराएको पनि थापाले जानकारी दिए ।

नेकपाको आधिकारिकता विवादबारे पत्रकारले राखेको जिज्ञासामा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको बताए ।

गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै नेकपा दुई खेमामा विभाजित भएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको पहिलो पटक हो ।

संसद विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् ।