आधिकारिकता दावी गर्न प्रचण्ड–माधव नेपाल निर्वाचन आयोग पुगे
Tuesday, February 2, 2021
National Power
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दावी गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका शीर्ष नेताहरु आज निर्वाचन आयोग पुगेका छन् ।
अध्यक्षद्वय प्रचण्ड र नेपालसहितको टोली आयोग पुगेको नेता लिलामणि पोखरेलले बताए । उनका अनुसार आवश्यक कागजपत्रसहित अध्यक्षद्वसहितको टोली दिउँसो आयोग पुगेको हो । सोमबार बसेको प्रचण्ड–नेपाल समूहको चौथो केन्द्रीय समिति बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने नेकपाका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ भने महासचिव विष्णु पौडेलको जिम्मेवारी खोसेको छ ।
यसअघि ओली र प्रचण्ड–नेपाल दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखे पनि आयोगले दुबै पक्षको निर्णय अस्वीकार गर्दै नेकपा विभाजन नभएको जनाएको थियो । आयोगको उक्त निर्णयको आलोचना हुँदै आएको छ ।