Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

बाइडेन र मूनबीच टेलिफोन वार्ता, मिलेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त

Thursday, November 12, 2020 National Power

दक्षिण कोरिया – दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो । वार्ताका क्रममा दुबै नेताबीच उत्तर कोरियाली आणविक मामिला सुल्झाउन मिलेर सहकार्य गर्ने बारेमा सहमति भएको थियो ।

राष्ट्रपति मूनका प्रवक्ता काङ मिन–सियोकका अनुसार राष्ट्रपति–निर्वाचित बाइडेनले हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा र समृद्धिका सन्दर्भमा दक्षिण कोरिया अत्यन्त महत्वपूर्ण मुलुक रहेको बताएका थिए ।

त्यस अवसरमा राष्ट्रपति मूनले बाइडेन समक्ष सियोल–वासिङटनबीचको साझेदारीलाई थप समुन्नत बनाउन “निकट संचार सम्पर्क स्थापना” गर्न आग्रह गरेका थिए । प्रवक्ता काङले दुबै मुलुकबीच लोकतन्त्र र मानव अधिकारको रक्षाका सन्दर्भमा ७० वर्षदेखिको अटुट साझेदारी रहेको स्मरण गरिएको बताए ।

बाइडेनले दक्षिण कोरियासँग अमेरिकाको सुदृढ सुरक्षा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुका साथै उत्तर कोरियाको आणविक मामिलाको समाधानका लागि साझेदारी गर्ने बताएका थिए ।

दुबै नेताले विश्वव्यापी रुपमा उत्पन्न कोभिड–१९ र जलवायु परिवर्तन समेतका विषयमा आपसी सहयोगलाई थप विस्तार गर्न सहमति जनाएका थिए । प्रवक्ता काङका अनुसार बाइडेनले अमेरिकी राष्ट्रपतिको शपथ गरेलगत्तै जतिसक्दो चाँडो भेटघाट गर्न राष्ट्रपति मूनले प्रस्ताव गरेका थिए ।

गत साता बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित घोषणा भएको अनौपचारिक विवरण सार्वजनिक भएपछि यो उनीहरुको पहिलो प्रत्यक्ष संवाद हो ।