Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी

Wednesday, November 11, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको छ । विवादले दुवै नेता एक अर्कालाई कारबाहीसम्म गर्ने तयारीमा छन् । सकेसम्म सहमतिको बिन्दु खोज्ने नभए कडा कदमसम्मको सम्पूर्ण तयारी दुवै नेताले गरिसकेका छन् ।

प्रचण्ड र माधव नेपालसहितका बहुमत सचिवालय सदस्यले ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी गरेको जानकारी पाएपछि ओलीले निकटस्थलाई चुनौतीको सामना गर्न तयार हुन भनेका छन् । उनले बालुवाटारमा विश्वासपात्रहरुलाई डाकेर त्यस्तो निर्देशन दिएका हुन् । कुनैपनि बेला कठोर निर्णय गर्नुपर्ने हुनसक्ने भन्दै प्रचण्डले पनि निकटस्थलाई तयार रहन भनेका छन् । यसले नेकपाभित्र गम्भीर दुर्घटनाको अवस्था बनेको छ ।

पार्टी सचिवालय हुँदै स्थायी र केन्द्रीय कमिटी बैठक डाकेर प्रचण्डले ओलीका बारेमा निर्णय लिने तयारी गरेका छन् । बुधबार सचिवालयको बैठक डाकेर प्रचण्डले ओलीलाई समेत जानकारी गराएका छन् । तर, ओली आउने या नआउने टुंगो छैन । पार्टीबाट ओलीमाथि भयंकर कारबाहीको निर्णय हुनसक्ने केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले औल्याएका छन् । ओली निकट बाँस्कोटाले हिजो ओलीविरुद्ध षड्यन्त्र भइरहेको र कारबाही गर्ने तयारी भएको सनसनीपूर्ण खुलासा गरेका छन् ।

पार्टी बैठक डाक्नुमा ओलीमाथि कारबाहीको तयारीका रुपमा लिइएको छ । तर, ओलीले बारम्बार बैठक टार्दै आएका छन् । उनलाई दुई दिनभित्र सचिवालय डाक्न अल्टिमेटम दिइएको थियो । तर, बेवास्ता गरेपछि हिजो सचिवालयका बहुमत सदस्यका तर्फबाट प्रचण्डले बालुवाटारमा भेटी बैठक डाक्ने जानकारी गराएको बुझिएको छ ।

ओलीले बैठक डाक्न आनाकानी गरे आफै डाक्ने प्रचण्डको तयारी छ । सचिवालयबाट पार्टीका तल्लो कमिटी हुँदै ओलीलाई कारबाही सम्मको तयारी भएको बुझिएको छ । यही बुझेर ओलीले पछिल्लो समय कडा अभिव्यक्ति दिदै आएका छन् । उनले पार्टी सचिवालय डाक्नुलाई विभाजनतर्फको बाटो भनेका छन् । बरु अविश्वासको प्रस्तावको सामना गर्ने तर प्रधानमन्त्री पदबाट कुनै हालतमा राजीनामा नदिने दृढता व्यक्त गरेका छन् ।

नेकपाभित्र ओलीलाई पार्टीको विधि र प्रक्रिया मिलाएर सरकारबाट फिर्ता बोलाउने तयारी भइरहेको संकेतहरु निरन्तर मिल्दै आएको छ । ओली निकटस्थहरुले सार्वजनिक रुपमा कडा अभिव्यक्ति दिदै यसको खुलासा गरिरहेका छन् । कतिपय नेताहरुले पार्टीलाई फुटबाट जोगाउन मुश्किल भएको समेत बताएका छन् ।