Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य

Thursday, November 5, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य भएको छ । ओलीइतरको समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्य गरेको बुझिएको छ । अविश्वासको प्रस्ताव ल्याउन ओलीइतर समूहको तयारी अन्तिमतिर पुगेको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, सकेसम्म ओलीलाई राजीनामा दिन लगाएर मार्ग खोल्ने पहल पनि भएको छ । राजीनामाको दबाब परेपछि ओलीले हिजो कडा अभिव्यक्ति दिए । उनले कुनै हालतमा राजीनामा नदिने बताए । ओलीको अभिव्यक्ति पछि उनीइतरको समूहले तिहारलगत्तै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ ।

नेकपा संसदीय दलमा कुनैपनि नेता विशेषको बहुमत छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तीनैजना अल्पमतमा छन् । तर, कुनै दुई नेता एक भएमा बहुमत पुग्ने अवस्था छ । ओली पक्षले भने एक्लै बहुमतको दाबी गर्दै आएको छ ।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड र माधवकुमार नेपालबीच भित्री सहमति बनेको छ । यसैलाई बुझेर ओली पक्षले माधव नेपाललाई सहमतिमा ल्याउन प्रयास जारी राखेको छ । नेपाल सहमतिमा नआउने देखेपछि प्रचण्डलाई मनाउन समेत खोजिएको छ । ओली र प्रचण्डबीच निर्णायक वार्ता हुँदैछ ।

सत्ता संकट बढेपछि ओलीको अभिव्यक्तिहरुले राजनीतिलाई नै तरंगित पार्दै लगेको छ । उनले प्रचण्डलाई भेटेर अलग अलग जान गरेको प्रस्ताव समेत बाहिर आएको छ । बुधबार उनले राजीनामा दिएर देशलाई बर्बादीमा नलाने अभिव्यक्ति दिए । यसले पनि ओलीको सत्ता संकट गहिरिएको प्रष्ट भएको छ । अब सहमतिको अन्तिम प्रयास आगामी हप्ताभित्र हुने र नभए वारपारकै अवस्था बन्ने देखिएको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले निकटस्थहरुलाई तयारी अवस्थामा रहन भनेका छन् । कुनैपनि बेला चुनौतीको सामना गर्नुपर्ने र आफूले कठोर कदम चाल्नसक्ने भन्दै ओलीले त्यस्तो निर्देशन दिएका हुन् । उनले हिजो प्रदेश १ मा आफूनिकटस्थ नेताहरुसँग जुम बैठकमार्फत् तयार रहन भनेका हुन् ।