Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

ओलीविरुद्ध अविश्वासको प्रस्तावसम्मको तयारी

Friday, October 30, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरि घेराबन्दी भएको छ । उनलाई सत्ताबाट हटाउने भित्री योजनाहरुले फेरि गति लिन थालेको छ । ओलीविरोधी गठबन्धनले पार्टी केन्द्रीय कमिटी बैठक डाकेर भएपनि सरकारबाट फिर्ता बोलाउने देखि अविश्वासको प्रस्ताव सम्म दर्ताको तयारी गरेको बुझिएको छ ।

ओलीलाई पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले योजना बनाएको बुझिएको छ । गठबन्धनमा अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सचिवालय सदस्यहरु छन् । विशेषगरी प्रचण्ड र नेपालबीच सरकार एकजनाले र पार्टी अर्कोले हाँक्ने गरी सहमति दशैं अघि नै बनेको थियो ।

ओलीले स्थायी कमिटी बैठकले पनि पारित गरेको विगतको सहमति कार्यान्वयन नगरेको भन्दै प्रचण्ड र नेपाल असन्तुष्ट रहँदै आएका छन् । विश्वस्त स्रोतका अनुसार दुवै नेताले ओलीलाई बारम्बार ‘सच्चिन मौका दिंदा पनि नसच्चिएको’ भन्दै कठोर कदम चाल्ने तयारी गरेका हुन् । माधव नेपालले त वामदेवका कारण यसअघि नै बनेको योजना विफल भएको आन्तरिक छलफलमा भन्दै आएका छन् । यसपटक वामदेव ओलीविरुद्ध सबैभन्दा कठोर रुपमा प्रस्तुत हुन थालेका छन् । उनले आफूलाई ओलीबाट धोका भएको भन्दै अब कुनै हालतमा नअलमलिने बताइसकेको बुझिएको छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत बहुमत भएको प्रचण्ड र माधव नेपाल पक्षधरले पार्टी निर्णयबाट अगाडि बढ्ने तयारी गरेका हुन् । तर, ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ । दशैंभर ओली पक्षले संसदीय दलमा बलियो अवस्था बनाउन गृहकार्य समेत गरेको बुझिएको छ । कुनैपनि बेला अविश्वासको प्रस्ताव आउन सक्ने सूचनाका आधारमा यसको गृहकार्य भएको हो । तर, आफ्नो पक्षमा आएका भनिएका प्रचण्ड निकट सांसदहरुको पनि पूरा भरोसा नभएपछि ओली पक्ष रक्षात्मक बन्न थालेको छ ।

प्रचण्ड र माधव नेपालबीचको गठबन्धनले कुनैपनि बेला आफूविरुद्ध कडा कदम चाल्न सक्ने बुझेर ओलीले नयाँ राजनीतिक अस्त्र छाडेका छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई दशैंअघि र दशैंको समयमा दुईपटक भेटेका छन् । भेटमा पूर्व एमालेबीचको एकतामा जोड दिएको र भविष्यमा पार्टी नेतृत्वका लागि तयार रहन नेपाललाई आग्रह गरेको बुझिएको छ । तर, नेपालले भने यसमा विश्वास नगरेको बुझिएको छ ।

ओली पक्षधर नेताहरु अर्का अध्यक्ष प्रचण्डसँग पनि सहमति निकाल्न सक्रिय भएका छन् । केन्द्रीय कमिटी बैठकले कठोर अवस्था सृजना गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी हाललाई स्थगित गरिएको छ । यसका लागि प्रचण्ड सहमत भएका छन् । तर, प्रचण्ड र माधव नेपालबीच कर्णाली प्रदेशमा बनेको सहमति र ओलीलाई हटाउने गरी समेत बनेको सहमतिले नेकपाभित्र तरंग आइरहेको छ । ओली पक्षले यसलाई घेराबन्दीका रुपमा बुझेर तोड्ने कसरत गरिरहेको छ । यसका लागि प्रचण्ड र माधव नेपाल दुवैबीच बनेको गठबन्धन तोड्ने प्रयास भइरहेको छ । विगतमा घेराबन्दी पटक पटक तोडेका ओलीको यसपटक फेरि अर्को परीक्षामा छन् ।