काठमाडौं – जनचेतना नेपाल नामक सामाजिक संस्थाले आफ्नो स्थापनाकालदेखि नै कलाकारिताको माध्यमबाट सामाजिक रुपान्तरणको अभियानमा जनचेतना जगाउने काम गर्दै आइरहेको छ । यसै क्रममा सामाजिक रुपान्तरणको अभियानमा लागेको जनचेतनाले दशैंको अवसर पारेर काभ्रेको माझी बस्तिमा गएर गाउँलेहरुसँग शुभकामना साटासाट गरेको छ । यसपालीको दशैंमा खाद्यन्न लगायतका राहत सामग्री माझी बस्तिमा बाँडेर शुभकामना आदानप्रदान गरिएको जनचेतना नेपालका कार्यक्रम संयोजक कबिन्द्र त्रिपाठीले बताए ।
त्यस्तै बागमती प्रदेशको काभ्रे जिल्ला भुम्लु गाउँपालीका– ६ बस्तीमा ४९ घरपरिवार लाई प्रत्येक परिवारमा चामल एक बोरा २५ केजी, दाल २ केजी, सोयाबीन मसौरा एक पाकेट, चिउरा २ केजी, चना २ केजी, तेल १ लिटर र दुई दुईवटा सावुन वितरण गरिएको जनचेतना नेपालकी बागमती प्रदेश संयोजक मुना निरौला त्रिपाठी जानकारी दिइन् । संस्थाको समन्वयमा राहत सामग्री नवज्योती केन्द्रले सहयोग गरेको थियो ।कलाकारहरूको समूह रहेको जनचेतना नेपालका साथीहरूसँग सामाजिक रुपान्तरणका काममा अझ नजिक भएर साथ, सहयोग र सहकार्य गर्ने सकिने नवज्योती केन्द्रकी अध्यक्षले बताइन् । शुभकामना तथा राहत कार्यक्रममा जन चेतना नेपालका सल्लाहकार सुबास त्रिपाठी, समाजसेवी बद्रीप्रसाद खकुरेल, राजन त्रिपाठी, आशिश नेहरा, श्याम थापा मगर तथा स्थानीय नागरिक समाजका अगुवा निर्वाचित जनप्रतिनिधिहरुक को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जनचेतना नेपालको आयोजनामा नवज्योती जस्तै संस्थाको सहयोगमा खाद्यान्न, ब्ल्यांकेट लत्ताकपडा गरेर २ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको थियो ।
खोजिखोजि गाउँमा आएर सहयोगको भावना देखाएकोमा जनचेतना नेपाल र नवज्योती केन्द्रलाई ६ नम्बर वडा अध्यक्ष भरतबहादुर शिवशक्तिले धन्यवाद तथा शुभकामना दिए ।
जनचेतना नेपालका केन्द्रिय अध्यक्ष बलकृष्ण निरौलाले सातै प्रदेशमा सामाजिक रूपांतरणका विभिन्न क्षेत्रमा भिन्दाभिन्दै माध्यम बनाएर जनजनमा जनचेतना जगाउने काममा निरन्तरता दिने टेलिफोन सम्पर्कमा बताए । उनले जनचेतना नेपालको हाल केन्द्रीय कार्यालयसहित १नम्बर प्रदेश र बाग्मती प्रदेशमा प्रादेशिक संरचना रहेका छन्, अन्य प्रदेशमा पनि संस्थालाई विस्तार गरिने जानकारी गराए ।
यसअघि पनि जनचेतना नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा केहि दिन अगाडी धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरीरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख ५ हजार नगद सहयोग गरेको थियो ।