
काभ्रेपलाञ्चोक- नमोबुद्ध नगरपालिकाले नगरभित्र रहेका अपांगता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा गर्ने भएको छ । नमोबुद्ध नगर कार्यपालिका को आज आइतबार बसेको बैठकले नगरपालिकाबाट विभिन्न समयमा अपांगता परिचयपत्र वितरण गरेका व्यक्तिहरुमध्ये रातो र निलो परिचयपत्र प्राप्त गरेका अपांगता भएका व्यक्तिको कोरोना बिमा गर्ने निर्णय गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो । पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण अपांगता भएका व्यक्तिहरु पनि बढी प्रभावित हुने देखिएकाले नगरपालिकाबाट तत्कालै उहाँहरुको कोरोना बिमा गर्ने निर्णय गरिएको तिमल्सिनाले बताउनुभयो । ‘विपन्न र असहाय वर्गको हितका लागि नमोबुद्ध नगरपालिका सबैं प्रयत्नशील रहेको छ’ नगर प्रमुख तिमल्सिनाले भन्नुभयो, ‘आगामी दिनमा पनि उहाँहरुको हितका लागि आवश्यक कार्यक्रम अघि बढाउन थप योजनाहरु निर्माण गरिनेछ ।
नमोबुद्ध नगरपालिकामा रातो अपांगता परिचयपत्र पाउने ९० जना रहेका छन् भने निलो परिचयपत्र पाउने व्यक्ति १ सय ४५ जना रहेका छन् । यसैगरी नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाको पनि कोरोना बिमा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । हाल नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।
नगरपालिकाअन्तर्गतका अत्यावश्यकबाहेकका सेवा वन्द
नमोबुद्ध नगरपालिकाले नगर र वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै सेवा वन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले भोली सोमबारबाट यही भदौ २२ गते सोमबारसम्मका लागि सेवा वन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले यसअघि आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरेर सेवा सञ्चालनमा ल्याएको थियो । नगरपालिकामै कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र कन्ट्रयाक्ट ट्रेसिङ लगायतका कार्य सहज बनाउन सेवा वन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले बतानुभयो ।
कार्यपालिका बैठकले कोरोना पुष्टि भएका कर्मचारी बसेको भकुण्डे बजारस्थित एक घर र उक्त घरको एक सय मिटर वरपर अर्को निर्णय नभए सम्मको लागि उक्त घरमा बसोबास गर्ने व्यक्तिहरु र अन्य व्यक्तिहरुलाई उक्त क्षेत्रमा आवतजावतमा रोक लगाउने निर्णय गरेको छ । यस्तै नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलन नदिन र कन्ट्रयाक्ट ट्रेसिङका लागि वि.पि. राजमार्ग अन्तर्गत बुच्चाकोट–भकुण्डे–नौबिसे–जयमंगलटार आसपास रहेका स्वास्थ्य सेवासँग सम्बन्धित व्यवसायहरु बाहेकका वित्तीय क्षेत्र लगायत सम्पूर्ण व्यवसायहरु अर्को निर्णय नभए सम्मको लागि बन्द गर्ने निर्णय पनि नगर कार्यपालिकाको बैठकले गरेको छ ।
नमोबुद्ध नगरपालिकामा हालसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जना निको भएर घर फर्किसकेका छन् । संक्रमण पुष्टि भएका वडा नंवर ११ का एक पुरुषको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने शुक्रबार कोरोना पुष्टि भएका कर्मचारी नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा रहेका छन् ।