Saturday 5th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

कोरोना संक्रमणमुक्त किशोरीको घरमै पुगेर नमोबुद्धका मेयरले ग्रहण गरे अभिभाकत्व

Friday, August 28, 2020 National Power

काभ्रे– नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना संक्रमणबाट मुक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका छन् ।
हिजोमात्रै धुलिखेल अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी नमोबुद्ध नगरपालिका ५ की ती किशोरीको घरमै पुगेर नगरमुख तिमल्सिनाले स्नातक तहसम्मको शिक्षाका लागि व्यक्तिगत तर्फबाट खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेका हुन् । वडाअध्यक्ष बुद्धसिंह तामाङसँगै आज शुक्रबार ती किशोरीको घरमा पुगेका तिमल्सिनाले किशोरीको परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि आफ्नै खर्चमा उनलाई स्नातकसम्म पढाउने निर्णय गरेका हुन् । ती किशोरी अहिले कक्षा १२ मा अध्ययनरत छिन् । उनको परिवारमा ६ जना रहेका छन् भने परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ । उनका पिताले सामान्य खेती किसानी गरेर परिवार चलाउँदै आएका छन् ।
देशका विभिन्न स्थानमा कोरोना संक्रमितमात्रै नभई उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथिसमेत दुव्र्यवहार भइरहेका बेला किशोरी र उनको परिवारको हौसला बढाउन तिमल्सिना किशोरीको घरमा पुगेका थिए । उनले कोरोना संक्रमण भएका व्यक्तिलाई दुव्र्यवहार हैन हौसला प्रदान गर्नुपर्छ भन्ने सन्देश समुदायसम्म पु¥याउनुपर्नेमा जोड पनि दिए । अहिले कोरोना भाइरसका विषयमा समुदायमा जुन किसिमको त्रास र आतंक फैलिएको छ त्यो गलत रहेको तर सबै यसबाट सचेत र सजग रहनुपर्ने तिमल्सिनाले बताए ।
उनले आत्मबल बलियो बनाउन कोरोना संक्रमण भएका व्यक्तिहरुलाई आग्रहसमेत गरेका छन् । ‘रोग लाग्यो भनेर आत्तिने हैन, हिम्मत बढाउने र स्वास्थ्य सजगता अपनाउने गर्नुपर्छ’ तिमल्सिनाले भने । नगरप्रमुख आफ्नो घरसम्मै आएर हौसला प्रदान गरेकोमा संक्रमणबाट मुक्त भएकी किशोरीले खुशी व्यक्त गरिन् । उनले आफ्नो शिक्षाका लागि नगरप्रमुखले अभिभावकत्व ग्रहण गर्नुले आफूलाई अझै अध्ययन अगाडि बढाउन हौसला मिलेको पनि बताइन् । ती किशोरीमा कोरोना संक्रमण देखिएपछि साउन ३१ गतेदेखि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो ।
नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाले विगतदेखि नै व्यक्तिगत तर्फबाट विपन्न र जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग गर्दै आएका छन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले बुधबारमात्रै १ लाख रुपैयाँ भन्दा बढी रकम विद्यार्थीहरुको शिक्षाका लागि प्रदान गरेका थिए ।