वीरगञ्ज – वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा पहिलोपटक हो । संक्रमित मध्ये १७ जना महिला छन् भने रौतहट र बाराका ४/४ जना रहेका छन् ।
बिहीबार गण्डक कोरोना अस्पतालमा मृत्यु भएका वीरगञ्ज-११ का ५७ वर्षीय पुरुष र घरमै मृत्यु भएका ७९ वर्षीय वृद्ध पनि यो संख्यामा समावेश छन् । त्यसबाहेक नेपाली सेनाका ५ जना, ४५ जना प्रहरी, नारायणी बयोधा अस्पतालका ५ जना चिकित्सकसहित १५ जना, वीरगञ्ज-२५ सिर्सिया क्षेत्रमा ३९ जनालगायतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका ७२ वर्षीय वृद्ध, ६८ वर्षीया वृद्धा, २१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । वीरगञ्ज महानगरपालिकाका ३३ वर्षीय कर्मचारीमा पनि कोरोना देखिएको छ । यसअघि वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत सहित १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
५ दिनदेखि ज्वरो आएर शंकास्पद संक्रमितको रुपमा कोरोना विषेश अस्पताल गण्डकमा भर्ना भएका बाराको कलैया उपमहानगरपालिका-१ का ३७ वर्षीय पुरुष, ज्वरो टाउको दुख्ने र कमजोरीको समस्या लिएर नेशनल मेडिकल कलेजमा भर्ना भएका बारा च्युटाहाका २३ वषिर्य युवक, तराई अस्पतालमा उपचाररत ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
६ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज-११ फूलबारी टोलका ५३ वर्षीय, ५ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज- १० आदर्शनगरका ५० वर्षीया महिला, ५५ र २४ वर्षका पुरुषमा, ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज-१७ अलौंका ६९ वर्षीय, बाराको जीतपुरसिमराका ३५ वर्षीया महिला, खोकी लागेर कोरोना जाँच गराएका वीरगञ्ज-७ का ३६ वर्षीय पुरुषमा कोरोना देखिएकोछ ।