Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

आरोप, प्रत्यारोप बिरुद्ध नेपाल चलचित्र कलाकार संघको विज्ञप्ती

Saturday, July 11, 2020 National Power

काठमाडौँ – नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारका विषयमा सामाजिक संजालका साथै विभिन्न संचार माध्यममा आएका आरोप, प्रत्यारोप, विवाद लगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार संघले यो भन्दा अगाडी मिति ०७७ जेठ १८ गते, ०७७ जेठ २३ गते र ०७७ असार १८ गते प्रेस विज्ञप्ती मार्फत सबै पक्षको ध्यानाकर्षण गराउँदै समस्या र विवाद समाधानका लागि पहल गर्दै आइरहेको यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौं ।

नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । आफूलाई लागेका कुराहरु मात्र हैन पीडा लगायतका विकृती विसंगती विरुद्ध आवाज उठाउन पाउनु पर्ने नागरिकको नैसर्गिक अधिकार हो । कसैको अभिव्यक्ती चित्त बुझेन भने शिष्ट भाषामा मर्यादित तरिकाले त्यस्को आलोचना र प्रतिवाद गर्न पाइन्छ । तर आलोचना र प्रतिवादको नाममा कसैलाई गाली गलौच र अशिष्टताको प्रदर्शन गर्नु निन्दनिय हुनेछ ।

नेपाली चलचित्र नेपालीहरुको अपार माया सद्भाव र प्रेमले चलायमान रहेको कसैबाट लुकेको छैन । दर्शकहरुकै प्रेम सदाशयता र सद्भावले नेपाली चलचित्रका कलाकारहरु पनि लोकप्रियताको उपल्लो श्रेणीमा पुगेका छन् । दर्शकहरुले माया नगरे न चलचित्र क्षेत्र चलायमान हुन्छ, न कलाकारहरु नै लोकप्रिय हुन्छन् । कसैको अभिव्यक्ति कसैलाई चिक्त नबुझ्न पनि सक्छ । चित्त नबुझेको थाहा भएको अवस्थामा तत्कालै चलचित्रकर्मीले आफ्नो आशय प्रस्ट्याउँदै माफी माग्न पनि पछि हट्दैनन् र मागेका उदाहरण पनि प्रसस्तै छन् । जसले लोकप्रिय बनायो उसैलाई गाली गर्ने संस्कार चलचित्रकर्मीमा छैन । नेपालीहरुको संस्कार संस्कृतिलाई मध्यनजर राख्दै तत्काल उव्जिएका यस्ता विवाद र समस्यालाई विर्शिदिएर विवादको जड अन्त्य गरिदिनहुन नेपाल चलचित्र कलाकार संघ यहि बक्तव्य मार्फत सवैमा अपिल गर्दछ । साथै कलाकारहरुले पनि आपसी समझदारी र भाइचारा कायम राख्दै आचार संहिता भित्र रही आफ्नो स्वतन्त्रताको उपभोग गर्न हुन पनि अनुरोध गर्दछौं ।

साथै, नेपाल चलचित्र कलाकार संघ चलचित्र कलाकारहरुको हक हितका साथै चलचित्र क्षेत्रको संरक्षण सम्वद्र्धनका लागि स्थापना भएकाले कलाकार विच विवाद, समस्या, गुनासा भए त्यसलाई अनावश्यक प्रचार बाजी नगरी संघ मार्फत विवाद, समस्या, गुनासा समाधान गर्न र कलाकारलाई प्रोत्साहन गर्न संघ क्रियाशील छ ।

कुनै कलाकारलाई दुव्र्यवहार भए, हिंसामा परे वा मर्कामा परेमा तत्कालै आफ्नो मर्का पिडा आफुमाथि भएको दुव्र्यवहार बारे संघलाई जानकारी गराउने र सोही समयमा आवश्यक कानुनी उपचार लिएमा प्रभावकारी हुने भएकाले तत्काल आफ्नो पिडा, समस्या, मर्का, संघलाई जानकारी दिने र कानुनी उपचार लिने संघका सबै सदस्यहरुलाई पनि यसै बक्तव्य मार्फत अनुरोध गर्न चाहन्छौं ।

साथै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सचेतना फैलाउने कार्यको समेत अभिभारा लिएका कलाकारहरुले आदर्श समाज निर्माण गर्नु पर्ने भएकाले कलाकारहरुले हिंसा पिडा र अन्यायलाई निरुत्साहित गर्न लागि पर्नु पर्ने कुरा पनि यसै बक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं ।

हाल चलचित्र क्षेत्रमा देखिएका विविध समस्या र विवादको समाधानका लागि चलचित्र क्षेत्रका सबै पेशागत संघ संस्थाले चासो राख्नु पर्ने र ऐक्यवद्ध हुनु पर्ने पनि यसै बक्तव्य मार्फत अनुरोध गर्दछौं ।

मोहन निरौला
उपाध्यक्ष तथा प्रवक्ता
२०७७ असार २७ गते