काठमाडौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहिदहरुको बलिदान खेर जान नदिने बताएका छन् । लद्दाखको गलवान उपत्यकामा सोमबार राति बीस जना भारतीय सैनिकको ज्यान जाने गरी भएको हिंसात्मक झडपप्रति मोदीले पहिलो पटक प्रतिक्रिया दिएका हुन् ।
घटनाको दुई दिन बितिसक्दा पनि आफ्नो धारणा सार्वजनिक नगरेकोमा प्रधानमन्त्री मोदीको आलोचना हुँदै आएको थियो । ‘देशको सेवाका लागि सैनिकहरुको महान् बलिदानका लागि नमन गर्छु । आज पूरा देश तपाईंहरुसँग छ र पूरै देशको भावना तपाईंहरुसँग छ । सहिदको बलिदान खेर जान दिने छैनौं । म पूरै देशलाई भरोसा दिलाउन चाहन्छु, हाम्रा जवानहरुको बलिदान खेर जान छैन,’ भारतीय विदेश मन्त्रालयद्वारा मोदीको भनाइ उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ । बुधबार दिउँसो मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै मोदीले त्यस्तो धारणा राखेका हुन् ।
भारतीय र चिनियाँ सैनिकहरुबीच भएको झडपमा २० जना भारतीय सैनिकहरुको मृत्यु भएको थियो । भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार साँझ हिंसात्मक झडपको रुप लिएको थियो । साथै, मोदीले भारतले सँधै शान्ति चाहेको तर भारतलाई उक्साइएको खण्डमा जुनसुकै हालतमा पनि निर्णायक जवाफ दिनेसमेत बताएका छन् । उनले भनेका छन् ,‘भारत सांस्कृतिक रुपमा नै शान्तिप्रिय देश हो । हाम्रो इतिहास नै शान्तिको रहृयो । हामीले प्रत्येक युगमा पूरै संसारभर शान्ति र पूरै विश्वजगतको कल्याणको कामना गर्दै आएका छौं तर हाम्रा लागि भारतको अखण्डता र संप्रभुता सर्वोच्च हो त्यसैले यसको रक्षाका लागि हामीलाई कसैले पनि रोक्न सक्दैन ।’
‘भारतले कसैलाई उक्साउने गरेको छैन, तर देशको अखण्डता र सम्प्रुभतामा सम्झौता भने कहिल्यै गर्ने छैन । जहिले पनि आफ्नो देशको अखण्डता र संप्रभुताको रक्षा गर्नुपर्ने अवस्था आएको छ भारतले सँधै आफ्नो शक्ति प्रदर्शन गर्दै क्षमता सावित गरेको छ । यस विषयमा कसैलाई थोरै पनि भ्रम र सन्देह नहोस्’ विज्ञप्तिमा भनिएको छ । साथै मोदीले भारतले जुनसुकै स्थिति र परिस्थिति भए पनि आफ्नो एक इन्च भूमि र स्वाभिमानको रक्षा गर्ने दाबी गरेका छन् ।
source :#kantipur#