Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

एमसीसी पारित गराउन देउवा – ओलीको अघोषित गठबन्धन !

Monday, June 8, 2020 National Power

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच अघोषित गठबन्धन देखिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओली र नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवाको अघोषित गठबन्धन पछिल्लो समय प्रष्ट रुपमै देखिन थालेको छ ।

१५ असारभित्र अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने अनिवार्य अवस्थाबीच ओली र देउवा नजिकिएका हुन् । दुवै नेता एमसीसीको पक्षमा छन् । देउवाले एमसीसी कुनै हालतमा पारित गर्नुपर्ने अडान लिएर पार्टीबाट निर्णय गराउने भएका छन् भने ओली पनि जुनसुकै हालतमा एमसीसी पारित गर्नुपर्ने अडानमा छन् ।

नेकपाभित्र ओलीइतरका अधिकांश सचिवालय सदस्य एमसीसीको विरोधमा छन् । यथास्थितिमा एमसीसी पारित गर्न नहुनेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, स्थायी कमिटिका सदस्य भिम रावल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको निकटता कतिपय राजनीतिक नियुक्ति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत लिएर हेरिएको छ । ओलीले देउवा कार्यकालमा राजदुत बनाएकाहरुलाई फिर्ता बोलाएकामा प्रतिभा राणालाई बोलाएनन् । देउवाकी सासु राणा जापानको लागि राजदुत छिन ।

देउवालाई ओलीले कतिपय राजनीतिक मुद्दामा अप्ठ्यारोमा पारेनन् । राजनीतिक दल फुटाउन सहज हुने र संवैधानिक परिषदमा नियुक्तिसम्बन्धी व्यवस्था परिमार्जनका लागि ओलीले ल्याएको अध्यादेशमा देउवा खासै कडा रुपमा प्रस्तुत भएनन् । बरु नेकपाभित्र ओलीइतरको समुह कठोर बन्यो । ओली हटाउने प्रयास भइरहँदा देउवा भित्री रुपमा ओलीकै पक्षमा देखिए ।

सुदुरपश्चिमका नेकपाका स्थायी समिति सदस्य भीम रावल प्रमुख प्रतिपक्षी दलका नेताको शैलीमा ओलीविरुद्ध आक्रामक बन्दै आएका छन् । देउवा सत्ता साझेदार दलका नेता जसरी भुमिका निभाइरहेका छन् ।

देउवा अख्तियारमा एक आयुक्त आफ्ना मान्छे बनाउन चाहन्छन् । कतिपय संवैधानिक आयोगमा नियुक्तिमा हिस्सा चाहिरेका छन् । त्यसैले ओलीका अधिकांश कदममा सहयोगी बनेका छन् । एमसीसी पारित गर्न ओलीभन्दा देउवा अगाडि देखिदै गएका छन् । एमसीसी प्रकरणले देशमा कुनै राजनीतिक दुर्घटना भइहालेमा ओली देउवा एक ठाउँमा रहने देखिएको छ ।

देउवा ओली अघोषित गठबन्धन बन्नुमा प्रचण्डको भुमिकाले पनि काम गरेको बताईन्छ । विगतमा देउवा प्रचण्डसँग मिलेर अगाडि बढेका थिए । तर, गत चुनावमा प्रचण्ड ओलीसँग नजिकिए । देउवालाई यसबाट ठुलो राजनीतिक झड्का लाग्यो । उनको नेतृत्वमा काँग्रेस पार्टीले नराम्रो हार व्यहोर्न पुग्यो । प्रचण्डले आफूलाई धोका दिएको देउवाले निकटस्थलाई भन्दै आएका छन् । त्यसकारण पनि उनी ओलीलाई नै सघाउने पक्षमा देखिएका छन् ।

source : #reports Nepal #