Tuesday 3rd August 2021

    गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक    नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन नेपाल) को पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न    तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक    निर्मलालाई एक नारीको खुला पत्र : ‘नारी समाज फुटाउनेले समाज कसरी जोड्न सक्छ ?    विश्वभर फैलियो डेल्टा भेरियन्ट

अमेरिका रङ्गभेदको आगोमा जल्दैछ …

Saturday, May 30, 2020 National Power

 

 

      तस्वीर : रोयटर्स                                              एजेन्सी – अमेरिकी राज्य मिनेसोटामा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ । प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले बेस्सरी धेरैबेर थिचिएको थियो । शास फेर्न मुश्किल भएको भन्दै उनले याचिका गरे पनि प्रहरीले उनको कुरा सुनेका थिएनन् । ती युवक एउटा पसलमा झुटोबिल देखाएको आशंकामा पक्राउ परेका थिए ।

तस्वीर : रोयटर्स

प्रहरी क्रुरताको नजिकैबाट एकजना बटुवाले खिचेको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा टेकेको देखाइएको छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविन पक्राउ परेका छन् भने उनलाई शुक्रबार व्यक्ति हत्याको आरोप लगाइएको छ ।

अनुसन्धानका क्रममा ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको देखिएको छ । प्रहरीको उक्त क्रुरतासँगै शुरु भएको विरोध प्रदर्शनले देशव्यापी हिंसात्मक रुप लिएको छ । बिहीबार प्रदर्शनकारीहरुले फ्योयडलाई गिरफ्तार गरेर राखिएको मिनियापोलिसको एउटा प्रहरी चौकीमा आगो लगाइदिएका छन् । प्रहरीले हिंसा नियन्त्रणमा ल्याउन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

तस्वीर : रोयटर्स

हिंसाले उग्र रुप लिएपछि नगर प्रमुख जेकब फ्रेले स्थानीय समयानुसार शुक्रबार राति ८ बजेदेखि लागू हुनेगरी शहरभर कफ्र्यु लगाएको घोषणा गरेका थिए । तर शहरको दक्षिणी भागमा हजारौं मानिस निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा भेला भएका थिए । शुरुमा प्रदर्शन शान्त देखिएपनि केही समयपछि उनीहरुले कारहरुमा आगो लगाइदिनुका साथै पसलहरु तोडफोड गरियो । अन्ततः भीडले शहरका धेरै ठाउँका निजी तथा सार्वजनिक सम्पत्तिमा आगो लगायो ।

यो अस्थिरता र विरोध प्रदर्शन देशव्यापी हुने क्रममा छ । वासिङ्टन डिसी, एटलान्टा, फिनिक्स, डेनभर र लस एन्जलस लगायतका ठूला अमेरिकी शहरहरूमा परिस्थिति विस्फोटक बनेको छ । प्रदर्शनमा सहभागी मिनेसोटाका २६ वर्षीय युवक बेन हुबर्टले प्रदर्शनकारीले निषेधाज्ञाको अवज्ञा गर्नु र आगजनी गर्नु सामान्य रहेको प्रतिक्रिया दिए । फ्लोएडमाथि भएको बर्बर अन्यायका बारेमा उनी भन्छन्, ‘म पनि क्रुद्ध भएको छु । म आज धेरै दुःखित छु । यति लामो समयदेखि हामीमाथि अन्याय भइरहेको थियो । यो वर्षौंदेखि जारी थियो ।’ प्रहरी चौकी घेर्न पुगेका कतिपय ‘प्रहरीलाई कारबाही गर’ भन्दै नारा लगाउँदै थिए ।

तस्वीर : रोयटर्स

उत्तरी क्यारोलिनाको फोर्ट ब्राग र न्यू योर्कको फोर्ट ड्रमका ब्यारेकका सैनिकलाई तत्मयार रहन आदेश दिइएको छ । सेना परिचालनको आदेश जारी भएको खण्डमा चार घण्टाभित्र कार्यस्थलमा तैनाथ भइसक्ने गरी तयार रहन रक्षा मन्त्रालयले निर्देश गरेको छ ।

ट्रम्पले बिहीबार राति ओभल अफिसबाट रक्षामन्त्री एस्पर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन र अन्य उच्च पदाधिकारीलाई फोन गरेका थिए । त्यसक्रममा राष्ट्रपति ट्रम्पले रक्षामन्त्री एस्परलाई मिनेसोटाको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको स्थितिमा द्रुत सेना परिचालनको विकल्पमाथि विचार गर्न आग्रह गर्नु भएको रक्षास्रोतले जनाएको छ । रक्षामन्त्रालय स्रोतका अनुसार राष्ट्रपतिको आदेशमा विद्रोह नियन्त्रण ऐन १८०७ अन्तर्गत सेना परिचालन हुनेछ । यसअघि यो ऐन सन् १९९२ मा रड्नी किङको सुनुवाईका क्रममा लस एन्जलसमा हिंसा भड्किएपछि लगाइएको थियो ।

मिनेसोटाका गभर्नर टिम वाल्जले राज्यका करिब ५०० राष्ट्रिय गार्ड सैनिकलाई मिनियापोलिस, सेन्ट पल र वरपरका समुदायहरूको सुरक्षाका लागि खटाएका छन् । तर पेन्टागनका एक प्रवक्ताले वाल्जले सैनिक परिचालनका लागि आदेश नदिएको दाबी गरेका छन् ।

शुक्रबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोयडका परिवारजनलाई टेलिफोन गरी आफ्ना तर्फबाट दुःख प्रकट गरेको बताए । उनले आफूले फ्लोयडमाथि भएको प्रहरी कारबाहीको भिडियो हेरेको र त्यसमा कुनै क्षमा दिन नसकिने बताए । फ्लोयडको मृत्युका बारेमा राज्य र संघीय निकायहरुले विस्तृत अनुसन्धान शुरु गरेका छन् ।

( #Ratopati#)