Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नेपालले जारी गरेको नयाँ नक्सा स्वीकार्य नहुने भारतको प्रतिक्रिया

Thursday, May 21, 2020 National Power

काठमाडौ – भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।

भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ । उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’

नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतले यो स्वीकार्य नहुने बताएको छ । सीमा विवादमा भारतको अडानबारे नेपाल जानकार रहेको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘हामी नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछाैं ।’ सम्बादका माध्यमबाट सीमासम्बन्धी समस्या समाधान गर्ने पूर्व सहमतिको उल्लंघन गर्दै भारतीय भूमी दावी गर्नेगरी आएको यो नक्सा स्वीकार्य नहुने उसले बताएको छ ।

साथै नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे । यस्ता एकतर्फी कार्यबाट टाढै रहन र वार्तामार्फत् सीमासम्बन्धी समस्या समाधानका लागि वातावरण बनाउन उसले नेपाल सरकारलाई अनुरोध गरेको छ ।

भारतले नोभेम्बरमा यसरी नै एकपक्षीय रुपमा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

नेपाली भूभागलाई समेटेर नक्सा जारी गरेको भन्दै नेपालले विरोध गर्नुका साथै कूटनीतिक नोट पठायो । सीमा विवादबाट सम्वाद गर्ने परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकको मिति दुई पटक प्रस्ताव गरिसकेको छ ।

तर, भारतले बैठक टार्दै आएको थियो । साथै लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको कोभिड-१९ को महामारीकै बेला उद्घाटन गरेपछि नेपालले विरोध गर्‍यो । तत्काल सीमा विवाद सम्बादबाट समाधान गर्न चाहेको भन्दै परराषट्र मन्त्रालयले बिज्ञप्ति जारी गरे पनि भारतले त्यसलाई बेवास्ता गरेको थियो ।

कोरोना संकट समाधान भएपछि सम्वाद गर्ने भारतले फेरि वार्ता टार्न खोजेपछि नेपाल सरकारले सोमबार मन्त्रिपरिषद्बाटै नयाँ नक्सा पारित गरी बुधबार अपरान्ह सार्वजनिक गरेको थियो ।

वार्ताका लागि पटकपटक नेपालले गरेका प्रयासलाई लत्याएको भारतले यसपटक भने वार्ता गर्न चाहेको बताएको छ ।