काठमाडौं – आइतबार फेरि १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्ज ९ र वीरगन्जमा एक गरेर १ जनामा कोरोना पोजिटिभ देखिएको हो।
वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। अन्य ९ जना नेपालगञ्जका हुन्।
नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला छन्। योसँगै संक्रमितको संख्या ६९ पुगेको छ। १६ जना डिस्चार्ज भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४ र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ।
प्रवक्ता देवकोटाका अनुसार अहिले २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन्। आइसोलेसनमा उपत्यकामा ४ र बाहिर ७३ गरेर ७७ जनाको उपचार भइराखेको छ।
सात वर्षको बच्चामा पनि संक्रमण भेटियो :
नेपालमा पहिलो पटक नेपालगन्जका एक सात वर्षका बच्चामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यस अघि १४ वर्षसम्मका व्यक्तिमा कोरोना संक्रमण पाइएको थियो।
उनीसमेत गरी नेपालगन्जमा कोरोना संक्रमित हुनेको संख्या १० पुगेको छ भने आइतबार मात्रै एकै दिन ९ जनामा कोरोना संक्रमण भएको छ। जसमा ५ पुरुष र ४ महिला छन्।
बाँकेमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिले ट्युसन पढाउने महेन्द्र पार्क नजिकै रहेको नेपालगन्ज उपमहानगरपालिका ८ जोलाहनपूर्वाको इस्लामिया फैजुल इलम मदरमा अध्ययनरत बच्चामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
‘हामीले सुरुमा जोलाहनपूर्वाका व्यक्तिबाट नमूना संकलन लिन थालेका थियौं’, उनले भने, ‘परिवारका सदस्यको अलि ढिलो नमूना संकलन गरिएको थियो। परिवारका सदस्यको नमूना परीक्षण गर्न अझै बाँकी छ।’
शनिबार थ्रोट स्वाब संकलन गरिएका ९० जनाको परीक्षणमा नौ जनाको कोरोना पोजिटिभ र २१ जनाको नेगेटिभ रिपोर्ट आएको हो। अझैं ६० जनाको परीक्षण गर्न बाँकी नै छ।
६० जनामा परिवारका ७ जना सदस्य पनि छन्। उनीहरुलाई नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ। भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले अरु नमूनाको परीक्षण जारी रहेको बताएका छन्। सात वर्षीय बच्चामा कोरोना पुष्टि भएको बताइए पनि उनी बालक वा बालिका हुन् भन्ने खुलेको छैन।