Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

झापामा सिमा प्रहरी र भारतीय नागरिकबीच विवाद

Sunday, May 3, 2020 National Power

काठमाडौ – झापामा सीमा सुरक्षार्थ खटिएका नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच विवाद भएको छ।

बोर्डर सिल भएको अवस्थामा कचनकवल ४ खुट्टामनीबाट करिब १५ जना भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि विवाद भएको हो। भारतीयलाई नेपाल प्रवेश गर्नबाट रोक्न खोज्दा विवाद भएको प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा बसोबास गर्ने धेरै भारतीयले नेपाल तर्फको जमिनमा खेती लगाएका छन्। अहिले भारतीयले लगाएको मकै पाक्ने वेला भएको छ। भारतीयहरु त्यही मकै उठाउन नेपाल प्रवेश गर्न खोज्दा विवाद हुँदै आएको छ।

भारतीय नागरिक रातको समयमा मकै उठाउन नेपाल प्रवेश गर्न खोज्छन्। उनीहरुले मकै उठाउन पाउनुपर्ने भन्दै पटकपटक नेपाल प्रवेश गर्ने प्रयास गर्दै आएका छन्। त्यही क्रममा आइतबार बिहान पनि १५/२० जना भारतीय कृषकको टोली नेपाल प्रवेश गर्न खोजेको थियो।

बिहान ५ बजे भारतीय नागरिक नेपाल प्रवेश गरेका थिए। १२० नम्बर पिल्लर छेउमा खटिएका चार जना प्रहरीले उनीहरुलाई रोक्न खोजे। सीमामा खटिएका एक प्रहरीका अनुसार प्रहरीका चार जना मात्रै त्यहाँ ड्युटीमा थिए।

प्रहरीको सानो समूह देखेर भारतीयले प्रहरीलाई झम्टिएपछि विवाद भएको हो। ‘थोरै प्रहरी देखेर हेपेपछि अरु क्याम्पमा रहेका प्रहरी पनि आए’, ती प्रहरीले भने, ‘त्यही क्रममा उनीहरू भागे। भाग्दा उनीहरुले हँसिया पनि फाले। एक जना प्रहरीको हातमा समान्य चोट लागेको छ।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार अहिले खेती गर्न नेपालतर्फ आउने भारतीयका कारण सीमामा समस्या उत्पन्न भएको छ। प्रहरीले भारततर्फ सीमामा बस्ने एसएसबीसँग सहकार्य गरेर उनीहरूलाई भारत फर्काउने गरेको कोइरालाले बताए।

‘यो समस्या झापामा मात्र होइन, सीमा जोडिएका अन्यत्र पनि छ। उनीहरूको मकै पाकेको छ। उठाउन पाउनुपर्छ भन्ने माग छ। हामी आउनै दिँदैनौँ’, एसपी कोइरालाले भने, ‘त्यसकारण सामान्य विवाद भएको हो।’

#repoters club#