लेखक – डा. डिआर उपाध्याय
काठमाडौ – प्रत्येक वर्ष १ मे का दिन अत्यन्त जोश जागर तथा उमङ्ग उल्लासका साथ जुलुस आमसभा गर्दै बिश्वभरी मनाइने विश्व श्रमिक दिवस यसपटक खल्लोपना एवम् अनेकौं पीडाकाबीच गुपचुप मनईयो । कारण बन्यो कोरोना भाइरस माहामारीको संत्रासबीच जताततै मार खेपिरहेका श्रमिकहरुको दुरावस्था । कोरोनारुपी अजिंगरले भयावह किसिमबाट मानिसलाई आफ्नो आहार बनाउन थालेपछि यसबाट नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान जस्ता देशका मजदुर सबैभन्दा बढी आक्रान्त बनेका छन् ।
आफ्नो तथा परिवारको भरणँ पोषण गर्नका लागि थातथलोबाट परदेशिएका मजदूरहरु कोरोना संक्रमण हुनथालेपछि बिश्वब्यापी रुपमा सरकारहरुले लगाएको लकडाउनका कारण कसरी बिचल्लीमा परेका छन् भन्ने कुरा कसैबाट लुकेको छैन् । छिमेकी राष्ट्र भारतमा लाखौं मजदूर सयौं किलोमिटर टाढाबाट आफ्नो गाउघर आउन पाईरहेका छैनन् । त्यहा प्रान्त प्रान्त र जिल्लाका सीमा प्रबेश तथा निकासीमा कडाई गरिएकोले ती लाखौं मजदूर दयनीय अवस्थामा पुगेका छन् ।
नेपालमा केही सांसद तथा स्थानिय जनप्रतिनिधिले पहल गरेर आफ्नो जिल्ला गाउँका अलपत्रपरेका केही परिवारको उदार गर्दै गाउँघर पुग्ने साहस गरे । तर, पनि अझै दुर्दशामा रहेका मजदुरहरुको कमी छैन् । बिश्व श्रमिक दिवसकै दिन श्रमिकलाई राहत बितरणमा विभेद, धेरैको राहतसम्म पहुच नपुगेको लगायतका घटनाले मजदुरको दयनिय अवस्था छर्लङग पारिरहेको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले हालै जनाए अनुसार कोरोना भाइरसका कारण विश्वका १ अर्ब ६० करोड मजदूरको रोजगारी खोसिएको छ ।यसको प्रभाव नेपालमा डरलाग्दो किसिमले पर्दैछ । लकडाउनमा उद्योग प्रतिष्ठानहरुले कामदार निकाल्न थालेका छन् । ठुलो सङ्ख्यामा भारतमा कामगर्दै आएका हजारौं श्रमिक लकडाउन पछि अनेक कष्ट दुःख झेल्दै केही नेपाल फर्किसकेका छन् भने केही फर्किने क्रममा छन् । उनीहरुमा कोरोनाको संन्त्राससँगै आफ्नो बर्षौदेखि गुजारा चलाउदै आएको रोजगारी गुम्ने डर चिन्ता पनि ब्याप्त छ ।
एकातिर कोरोनाबाट प्राण जोगाउने पीर छ भने अर्कोतिर लम्बिदै गएको लकडाउनका कारण धान्न कठिन भएको जीवनको भारीले श्रमिक मजदूरलाई बढी सताउन थालेको छ । अर्को विडम्बना के छ भने देश जनतालाई यस्तो सङ्कटबाट पार लगाउन प्रभावकारी नीति योजना निर्माण गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका जिम्मेवार नेताबीच हालै शुरुभएको राजनीतिक स्थितिले सर्वसाधारणको आशा अपेक्षालाई निराश पारिदिएको छ ।
अनेकौ देशका सरकार प्रमुखहरु दिन रात कोरोनाको विनाशकारी छायाँबाट आफ्नो देशका जनतालाई कसरी जोगाउने भन्ने गहन छलफल र विचार विर्मशमा लागिरहेका बेला हामीकहाँ सर्वोच्च तथा बरिष्ठ नेताहरु सत्ता र पार्टी कसरी हत्याउने भन्ने ध्याउन्नमा दिनहु बैठकमा ब्यस्त रहेको देख्दा जनताले पुर्पुुरोमा हत्केला ठोकाउनु पर्ने अवस्था छ । कोरोना सँगको लडाईका लागि आफुसँग रहेको कोष तथा विभिन्न राष्ट्र एवम् अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्राप्त अबौं रुपियाँको सहयोगलाई कसरी सदुपयोग गर्ने, कोरोना परिक्षणँ सामाग्रीदेखि उपचार उपकरण औषधिको आवश्यक जोहो कसरी गर्ने, मजदूर तथा उनका परिवारसम्म राहत पुर्याएर उनीहरुलाई भोकमरीबाट कसरी जोगाउने लकडाउनका विविध पक्षिय फाइदा बेफाइदा आदीबारे छलफल विचार विर्मश चिन्तन गर्ने समयमा यस्तो बेमौसमी राजनीतिक रागले देशबासीलाई हदैसम्म निरास एवम् क्षुब्ध बनाएको छ ।
अझ राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धि अध्यादेश आउनासाथ सांसद डा. सुरेन्द्र यादवले आफ्नो अपहरण सम्बन्धमा सत्तारुढ नेकपाका नेता द्वय तथा नेपाल प्रहरीका पुर्वमहानिरिक्षक माथी लगाएको आरोप तथा उनको उजुरी कयौं निकायमा दर्ता नगरिएका घटनाले सबैलाई जिल्ल पारेको छ ।
हे महाप्रभुहरु ! दया गरेर हामी माथि संसार हसाउने भाइरसको प्रक्षेपण रोकेर कोरोना भाइरसबाट रक्षा गर्ने तिर समय र आफ्नो विद्वता खर्चिनुहोस् ।
– लेखक : डा. डिआर उपाध्याय