लेखक : डा. डि.आर. उपाध्याय
काठमाडौ – विश्वभर नै कोरोना भाइरस (कोभिड-१९) को महामारीले आतङ्क फैलाइरहेको अवस्थामा यसको रोकथाम नियन्त्रणका लागि भन्दै नेपाल सरकारले गरेको ‘लकडाउन’को आज ३० औं दिनमा छौ हामीहरु । सरकारले चरणवद्ध रुपमा लकडाउन लम्ब्याउँदै वैशाख १५ गतेसम्म ‘लकडाउन’को अबधि बढाएको छ । यो बीचमा कोभिड-१९को संक्रमण बाट हामीकहा ४२ जना संक्रमित देखा परेका छन् । हिजो मंगलबारमात्रै ११ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४२ पुगेको हो । देश यतिवेला कोरोनाको कहरमा छ भने कसैले यही मौकामा चौका हान्ने प्रवृतिमा संलग्न भएको पनि देएको छ ।
कोरोनाको सङ्कटमा सबै एकजुट भएर लाग्नु पर्ने अवस्थामा मन्त्री परिषदको सोमबार बसेको वैठकले ‘बेमौसमी बाजा’ बजाएको छ । कोरोना भाइरसले विश्वमै महामारी फैलाइरहेका बेला हामीसबै त्यसतर्फ एकजुट भएर लाग्नु पर्ने समयमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याएको छ । यसका तत्कालिन र दीर्घकालिन असर समयक्रमसँगै देखिदै जाने नै छन् । यसको अर्को लेखमा चर्चा गरौला म यो छोटो आर्टिकलमा कोरोना कहरमा मजदुरका विषयमा मनमा लाएका केही कुरा राख्दै छु ।
नेपालमा रहेका बिदेशीहरुलाई स्वदेश फर्काउन तिनका राष्ट्रले पहल गरेर लैजाने क्रम अझै पनि जारी छ । तर, बिभिन्न देशमा रहेका विद्यार्थीलगायत नेपालीहरु आफ्नो घर फर्कन पटक–पटक हार गुहार गर्दा पनि फर्कन पाईरहेका छैनन् । यो अत्यन्त दुर्भाग्यपुर्ण बिडम्बना हो ।
बिदेशमा रहेकाहरुको कुरा त परै जाओस आफ्नै देशमा रहेर पनि आफ्नो घर जान भोक भोकै हिँडेर समेत जान नपाउनेको पिडा पढेर सुनेर जोसुकैको गहभरी आँसु छचल्किन्छ । लकडाउनका कारण मुख्य सडकबाट जान नपाएर जङ्गलै-जङ्गल गोरेटो बाटोमा हिँडदै सयौं किलोमिटर पैदल गइरहेका सुत्केरी तथा गर्भवतीहरुको दर्दनाक अवस्थाको घाउ भविष्यमा नेपाली मनमा सजिलै पुरिएला जस्तो लाग्दैन ।
दिनभरी काम गरेर दुई छाक टार्ने अवस्थाका ज्यालादारी मजदुर एक महिना लामो लकडाउनमा काम विहिन भएर बस्नु पर्दा उनीहरुको स्थिती के भयो होला ! सजीलै अनुमान लगाउन सकिन्छ । तिनका कार्यस्थलका झुपडी, टहरा, टेन्टमा रासन पानी सकिएर ठेकदारले पारिश्रमिक नदिएर तथा राहतमा पँहुच नपुग्दा आफ्नो घर फर्किन बाहेक अरु बिकल्प थिएन उनका सामु । तर, लकडाउनमा देश ठप्प भए पछि उनीहरु लाला बालासहित हिडेर जान खोज्दा के-के दुर्दशा भईरहेको छ तपाईं हाम्रा अगाडि त्यस्ता दृश्य यत्र तत्र देखिएका छन् ।
देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन लागी गरिएका सबै आन्दोलन र सङ्र्घषमा यिनै मजदुरको महत्वपुर्ण योगदान रहने गरेको छ । यिनीहरुको नेतृत्व गर्ने देशभरीको राजनितिक दलहरुले ट्रेड युनियन अन्र्तगत सङ्घ सङ्गठनहरु सञ्चालन गरिरहेका छन् । यस्तै सङ्घ सङ्गठनका सयौं नेताहरु अहिले विभिन्न उच्चपद सम्हालेर बसेका छन् । तर, तिनै मजदुर चरम सङ्कटको भुमरीमा फसेका बखत अभिभावक बिहिन भएका छन् । लकडाउनमा यात्रा गर्नु उनीहरुकै जीवनका निम्ती घातक भएको वास्तविकता बुझाएर सरकारी राहतमा मजदुरको यथेष्ट पँहुच पू¥याउन मजदुर सङ्घ सङ्गठनले पहल कदमी गरेको भए दिनहुँ मजदुरहरुको मर्माहत पार्ने अवस्थाका समाचारहरु सार्वजनिक हुने थिएनन् । मजदुरहरु लाई सुरक्षित उपाय गरी गाउँ घर फर्काउनका लागि सम्बन्धित निकायमा सुझाव प्रस्ताव प्रस्तुत गरेर बेलैमा त्यसको कार्यान्वयन गराएको भए केही हदसम्म मजदुरहरु प्रतिको दायित्व पुरा हुन्थ्यो । तर, देशभर रहेका करिव २०लाख यस्ता मजदुरहरु अहिले अनेकौं पीडा कष्ट भोग्न झेल्न बाध्य छन् ।
सत्तारुढ नेकपाका अध्यक्ष पूष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यत्र तत्र बिचल्लीमा परेका मजदुरहरुको राहत एवम् उद्धारका लागि गरेको आग्रह पछि पनि हजारौं मजदुर बाल बच्चासहित दुरावस्थामा छन् । देशको चौतर्फी बिकाशका लागि रगत पसिना बगाएको तथा जनताको अधिकार प्राप्तीका निम्ति भएका प्रत्येक आन्दोलनमा सशक्त भुमिका निर्वाह गरेको शक्तिलाई उपेक्षा एवम् अपमान गर्नु कसैको पनि हितमा हुन सक्दैन । राहत तथा उद्धारमा पक्षपात धाँधली तथा आ-आफ्ना् कार्यकर्तालाई मात्र खूशी पार्ने नेताहरुले अहिलेको सङ्कटमा मजदुरहरुलाई भरिपुर्ण सहयोग गरेर प्रायश्चित गर्नुपर्छ । अझै पनि धेरै सङ्ख्यामा मजदुरहरु कष्ट झेल्दै आफ्ना घर तर्फको लामो पैदल हिँडाईमा अलपत्र रहेका छन् । यस्ता मजदुरको पीडामा थप पीडा थोपरने काम नगर । पीडामा मलम लगाउँ अन्यथा मजदुरको आँशुले तिमीहरुलाई सधैँ भरी पोल्ने छ । मजदुर पक्षको उपेक्षा र अपमान कसैको हितमा हुँदैन ।