ढाका (एजेन्सी) : बंगलादेशमा कोविडका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन)को उल्लंघन गर्दै हजारौँ व्यक्ति इमाम हुसेन तौफिक (एचटी) अन्त्येष्टिमा सहभागी भएका छन्।
पचपन्न वर्षीय इमामको शुक्रवार मृत्यु भएको थियो। उनी वरिष्ठ इस्लामिक धार्मिक नेता थिए भने प्रधानमन्त्री शेख हसिना वाजेदका सल्लाहकार समेत थिए । विश्वव्यापी समस्या बनेको कोविड संक्रमण फैलिनसक्ने भन्दै इमामको अन्त्येष्टिका लागि उनको परिवारले ५० जनाको सहभागिताका लागि प्रहरीसँग अनुमति लिएको थियो।
बंगलादेशको पूर्वी शहर सराइलमा इमामको अन्त्येष्टि यात्रा शुरु भएलगत्तै चोकचोकबाट निस्केका शुभेच्छुकको भीड रोक्न प्रहरी असफल भएको थियो।
स्थानीय प्रहरी प्रमुख शहादत हुसैनले भने, ‘ठूलो संख्यामा इमामप्रति अन्तिम सम्मान प्रकट गर्न निस्केको शोकमग्न जुलुसका अघि प्रहरी अधिकारीहरू असहाय बन्नुपरेको हो। उहाँप्रति अन्तिम श्रद्धा व्यक्त गर्न मानिस समुद्रको छालजस्तो उर्लिएका थिए।’
परिवारले करिब एक लाख शोकाकुल शुभेच्छुक हरूले अन्त्येष्टिमा सहभागी भई इमामप्रति शोक व्यक्त गरेका बताएको छ। त्यस्तै प्रधानमन्त्री शेख हसिनाका सहयोगी शाह अलि फरादले पनि ठूलो संख्यामा अन्त्येष्टि समारोहमा सहभागी भएको बताए।
बंगलादेशमा कोविड संक्रमण देखिन थालेपछि गत मार्च २६ देखि देशव्यापी लकडाउनको घोषणा सरकारले गरेको छ। शनिवारसम्म यहाँ २ हजार १४४ भन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ भने ८४ जनाको मृत्यु भएको छ। सरकारले लकडाउनको अवधिभर कुनै पनि धार्मिक स्थान (मस्जिद) मा प्रार्थनाका समयमा पाँचजनाभन्दा बढी व्यक्तिलाई भेला हुन रोक लगाएको छ।