Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

Friday, March 20, 2020 National Power

बाजुरा – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिए ।

उनका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो । अहिले सो गाउँपालिकाको वडा नं १ र २ का बालबालिका तथा वृद्धवृद्धा बिरामी परेको बताइएको छ । ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मीना बुढाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिए । यसैगरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा बिरामी पर्न थालेका छन् । गत माघ महिनामा ती गाउँमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको थियो ।

गाउँमा बिरामीको सङ्ख्या धेरै रहेको जानकारी आएको र गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकाले प्रमुख पन्तले जानकारी दिए । अहेब विर्ज विकसहितको टोली प्रभावित गाउँमा पुगिसेको उनले बताए । गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले दुईनाबालकको मृत्यु भएको र केही बिरामी परेको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मी परिचालन गरी उपचार शुरु गरिएको बताउनुभयो । गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र अढाइ घण्टाको पैदल दूरीमा पर्छ ।

प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले पनि सङ्क्रमण फैलिएको खबर प्राप्त भएको बताए । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले स्वास्थ्यकर्मी प्रभावित भनिएको गाउँतिर पठाइसकेको जानकारी दिए ।