Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

ग्राहकको भेषमा उद्योगमन्त्रीको छड्के अनुगमन

Saturday, March 14, 2020 National Power

काठमाडौं –  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पोखराका बजारमा छड्के अनुगमन गरेका छन् । उनले ग्राहकको भेषमा पसल र डिपार्टमेन्टल स्टोरको निरीक्षण गरे । शुक्रबार साँझ निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर उनी छड्के अनुगमनका लागि निस्किएका थिए । डिपार्टमेन्टल स्टोरमा छिरेर उनले सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे जिज्ञासा राखेका थिए ।

एउटा डिपार्टमेन्टल स्टोरमा छिरेर मन्त्री भट्टले एक किलो चिनी र एक किलो नुन माग्छन् । नुनको मूल्य सोध्दा डिमार्टमेन्टल सञ्चालक महिलाले एक प्याकेटको २५ रुपैयाँ बताउँछिन् । त्यसपछि मन्त्री भट्टले साल्ट ट्रेडिङले तोकेको मूल्य २० रुपैयाँ हो तर पाँच रुपैयाँ बढी लिएर उपभोक्ता किन ठगेको भन्छन् । जवाफमा ती महिलाले आफूले खरिद गरेर ल्याउने ठाउँबाटै यस्तै आउने गरेको बताएपछि मन्त्री भट्टले खरिद गर्ने ठाउँको फोन नम्बर मागेको एक भिडियोमा देखिन्छ ।

मन्त्री भट्टको सचिवालयका एक सदस्यका अनुसार बढी मूल्य लिइएकोबारे नोट बनाएर आवश्यक कारबाही गर्न सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिइएको छ ।पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टको सचिवालयले जनाएको छ । यसअघि मन्त्री भट्टले काठमाडौंका औषधि पसल र खाद्य स्टोरमा पनि अनुगमन गरेका थिए ।

कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै नेपालमा दैनिक उपभोग्य वस्तुका साथै मास्क र स्यानिटाइजरको कालोबजारी बढेको छ । उपभोक्ताले खाना पकाउने ग्यासको चर्को अभाव झेलिरहेका छन् ।