Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

कोरोना रोकथाममा सतर्कता अपनाउन सांसदको आग्रह

Monday, March 2, 2020 National Power

काठमाडौं – सांसदहरुले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहे पनि सतर्कता नअपनाएको भन्दै सरकारको आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कोरोना भाइरस संक्रमण फैलिएको देशबाट आउने यात्रु पनि विना चेकजाँच नेपाल प्रवेश गरिरहेको भन्दै भयावह स्थिति आउनेतर्फ सचेत गराएका छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको भनेर चेतावनी दिइसकेको अवस्थामा सरकारले संसदलाई आश्वस्त पार्ने ढंगले जवाफ दिनुपर्ने बताए ।

उपप्रधानमन्त्रीको अध्यक्षतामा कोरोना संक्रमण रोकथामका लागि समिति निर्माण गरेको सुनिए पनि त्यसले के काम गर्ने हो भन्ने विषयमा पनि सरकारको जवाफ चाहिने उनले बताए । कोराना संक्रमण फैलिएको देशबाट १ लाख ७६ हजार मानिस नेपाल प्रवेश गरेको भन्दै सांसद बडुले विमानस्थलमा असावधानी देखिएको बताए । नेकपा सांसद कृष्णभक्त पोखरेलले खुला सीमानामा चेकजाँचमा कडाइ गर्न माग गरे । उनले प्रभावित क्षेत्रमा उडान स्थगित गर्न, प्रभावित क्षेत्रमा नजान ट्राभल एडभाइजरी जारी गर्न, ल्याब र औषधीको पर्याप्त सञ्चय गर्न, रोग देखा परेमा उपचार केन्द्रको प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद उमा रेग्मीले सीमा नाकामा चेकजाँचको व्यवस्था गर्न माग गरेकी छन् । आवश्यक परेमा आवतजावत पनि बन्द गर्नुपर्ने बताइन् । सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले प्रभावित देश र विज्ञहरुको सल्लाह लिएर अघि बढ्नुपर्ने बताए । नेकपा सांसद शान्ता चौधरीले सरकारले ठोस कदम चालेर कोरोना भाइरस नेपाल छिर्न नदिने वातावरण बनाउनुपर्ने बताइन् । उनले कोरोना भाइरस नियन्त्रणका लागि हात मिलाउन छाडेर नमस्कार गर्ने प्रचलनलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।