काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारले भाषा बिगारेको आरोप बारम्बार लगाउने गर्छन् । र, प्रधानमन्त्री आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पनि बारम्बार बताउँछन् । तर, बालकोटस्थित प्रधानमन्त्रीकै निजी निवासमा बस्दै आएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ ।
‘यस्तो कुरामा यी मु‘ कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्‘’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु‘।ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’
अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ । अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन्,‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ।। समय मिलाउनुहोला ।’
अनलाइनखबरलाई प्राप्त २ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ ।सूत्रहरुका अनुसार मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र हुन् ।
मन्त्रीसँग एमओयु गर्ने र कमिसन लेनदेन गर्ने कुराकानी भइसकेपछि मन्त्री पछि हटेपछि स्वीस एजेन्टले अडियो ‘लिक’ गरेको देखिन्छ ।