Friday 14th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

ओली-प्रचण्ड छलफलपछि मात्र सभामुखको टुंगो, उपसभामुख कांग्रेसले नपाउने

Wednesday, December 11, 2019 National Power

काठमाडौं –  संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते आह्वान भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख चयनका लागि आन्तरिक छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्नेबारे एक-दुई दिनमै सघन छलफल हुने भएको छ ।

नेकपा स्रोतका अनुसार सभामुख चयन प्रक्रिया शुरु हुनुअघि नै उपसभामुख डा।शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउने निर्णय भइसकेको छ । नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण उपसभामुखलाई राजिनामा गराउन लागिएको पुष्टि गरे ।

तुम्बाहाम्फेले आफू सभामुख हुने निश्चित भएपछि मात्र राजिनामा दिने बताउँदै आएकी थिइन् । यद्यपि उनले सभामुख र उपसभामुख एकै दलको हुन नहुने संवैधानिक व्यवस्था आफूलाई थाहा भएको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर सबै प्रक्रिया मिलाएपछि निकास दिने बताइन् ।

प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्नुअघि नै उपसभामुखले राजिनामा दिने कि सभामुख निर्वाचनको कार्यक्रम बनाएर राजिनामा दिने भन्ने अझै टुंगो लागेको छैन । यद्यपि नेकपा स्रोतले भने पुस ४ गते संसद बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने र त्यसअघि नै उपसभामुखको राजिनामा आउने जनाएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेर राजिनामा दिएपछि डेढ महिनादेखि सभामुख पद रिक्त छ । यसबीचमा विधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने काम उपसभामुख तुम्बाहाम्फेले गर्दै आएकी छन् ।