Friday 27th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

विवाह पञ्चमी महोत्सव : नेपाल आए अयोध्याका जन्ती

Thursday, November 28, 2019 National Power

जनकपुर – रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रम हुँदै आएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ । जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह उत्सव मनाइन्छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंगलबारबाट नै शुरु भएको छ ।

पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न हुन्छ । बुधबार फूलबारी लीला र मटकोर विधि पूरा गरिएको छ । राजा जनककी छोरी सीता फूल टिप्न गएको बेला रामसँग पहिलो भेट भएको सम्झनास्वरुप फूलबारी लीला कार्यक्रम गरिन्छ । यसैगरी मटकोर विधिमा राम सीताको विवाह हुँदा मटिहानीकै लक्ष्मीसागर तलाउबाट माटो खनेर त्यही माटोले विवाहको बेदी (यज्ञस्थल) बनाउने परम्परा रही आएको छ ।

रामजानकी विवाह महोत्सवका लागि अयोध्याका जन्ती बुधबार साँझ महोत्तरीमा प्रवेश गरेका छन् । जिल्लाको भारतीय सीमावर्ती बजार मधवापुरबाट जन्ती नेपालतर्फ प्रवेश गर्दै मटिहानी आइपुगेका हुन् । मटिहानी प्रवेशद्वारमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र लक्ष्मीनारायण मठ मटिहानीका महन्थसहितका व्यक्तिहरुले जन्तीको स्वागत गरेका छन् ।

जन्तीहरु बुधबार राति मटिहानीमै बास बसेका छन् । महोत्सवमा सरिक हुन जन्ती भई आएका साधुसन्तहरुलाई मिष्ठान्न परिकार खुवाउने चलन छ । मटिहानीमा रात्रि विश्राम गरेपछि उनीहरु बिहीबार बिहान लावालस्करसहित महोत्तरी सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथको दर्शन गर्दै साँझ धनुषाको जनकपुरधाम पुग्ने छन् ।

मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेपछि जिल्लाकै पिपरा गाउँपालिकाको चाँदनीचोकमा दिवा खाना खुवाएर विश्राम गराई जन्तीलाई जनकपुरतर्फ बिदा गर्ने चलन रहे पनि यसपालि भने उपनिर्वाचनका कारण जन्ती सोझै जनकपुर पुग्नेछन् ।

महोत्तरी नाकाबाट प्रवेश गरेका जन्तीलाई विवाहपश्चात् रामकलेवा विधि सम्पन्न गरेर वीरगञ्ज नाकाबाट अयोध्याका लागि बस्त्र आभूषणसहित बिदाइ गरिन्छ ।