Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

रवि लामिछाने सहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता, पुडासैनीको भिडियो काटकुट नभएको प्रहरी प्रयोगशालाको रिपोर्ट

Sunday, August 25, 2019 National Power

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले मुद्दा दर्ता भएको पुष्टि गर्दै बयानको क्रम सुरु भएको बताए । ‘भर्खरै बयान सुरू भएको छ । पहिले कसको लिने भन्ने टुंगो लागिसकेको छैन’, उनले भने । अब अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।

शालिग्रामको भिडियो काटकुट नभएको प्रहरी प्रयोगशालाको रिपोर्ट

यसैवीच पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा बरामद भएको भिडियो क्लीपमाथि कुनै काटकुट वा ‘छेडछाड’ नभएको प्रहरी प्रयोगशालाले रिपोर्ट दिएको खुलेको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा अनुसन्धान प्रतिवेदन बुझाइएपछि जिल्ला प्रहरी कार्यालय, चितवनले प्रयोगशालाको रिपोर्टबारे औपचारिकरुपमा बोलेको हो ।

अनुसन्धानलाई सघाउन चितवन पुगेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीका अनुसार, ३२ साउनमा काठमाडौंबाट टोली चितवन पुग्दा रिपोर्ट आइसकेको थियो ।

‘बरामद भिडियोमा ट्याम्परिङ (छेडछाड) भएको छरछैन भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको थियो’, रेग्मीले भने, ‘ल्याबले छैन भन्ने रिपोर्ट दिएको छ, हामीले त्यहीअनुसार अनुसन्धान प्रतिवेदन बुझाएका छौं ।’

उनी भिडियो कसरी बाहिरिएको थियो भन्ने विषयमा चाहिँ बोल्न चाहेनन् । ‘यो प्रशासनिक कुरा हो, छानविन हुन सक्छ’, उनी भन्छन्, ‘हामी घटनाको गाम्भीयर्ता र प्रहरी महानिरीक्षकज्यूको निर्देशनअनुसार चितवन गएका थियौं, सुरुमा हाम्रो अनुसन्धान पुडासैनीको आत्महत्या हो कि कर्तव्य ज्यान भन्ने विषयमा केन्द्रित थियो ।’उनले पुडासैनीका साथबाट बरामद मोबाइल परीक्षणका क्रममा केही शंकास्पद सबूत फेला परेको र आत्महत्यामा कुनै दुरुत्साहन छ कि भन्ने देखिएकाले अनुसन्धान गरिएको बताए । मोबाइलबाट पुडासैनीको भिडियो वयानसहित अन्य के–के प्रमाणहरु बरामद भएका थिए भन्ने विषयमा चाहिँ रेग्मी खुलेनन् ।

आरोपित ३ जना र मृतकको डिजिटल कनेक्सनको खोजी

अनुसन्धानका क्रममा अधिकृतले मृतक पुडासैनी र दुत्साहन गरेको आरोपमा लागेका ३ जनाको डिजिटल कनेक्सन पनि खोतलेको थियो । पुडासैनीको भिडियो बाहिरिएलगत्तै दुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पक्राउ परेका थिए ।

ब्युरोको टोलीले लामिछाने, कँडेल र कार्कीको मोबाइलको कल डिटेल रेकर्ड ९सीडीआर०, लोकेशन, घटना भएको समयको डिजिटल उपस्थिति लगायतका विषयमा विस्तृत विवरण केलाएको थियो । त्यसक्रममा लामिछानेको भनाइसँग रुकुको बयान भने मेल नखाएको अनुसन्धान अधिकृत बताउँछन् ।

ती अधिकृतका अनुसार, रविले अस्मितालाई नचिनेको दाबी गरेका थिए । तर, अस्मिताले भने रविसँग चिनजान भएको वयान दिएकी छन् । ‘लामिछानेजीलाई अप्ठ्यारो पर्ने खालका अन्य विषय पनि आएका छन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

यति मात्र होइन, पुडासैनीको आत्महत्यालगत्तै लामिछाने र कँडेल कार्यरत् संस्था न्यूज २४ टेलिभिजनबाट पनि अस्मितालाई पटक–पटक सम्पर्क गरेको देखिएको जनाइएको छ ।यो प्रकरणको अनुसन्धानका क्रममा देशैभर लामिछाने समर्थकले प्रदर्शन चर्काएका थिए । जसले अनुसन्धानमा पनि बाधा पुर्याएको प्रहरी अधिकृत बताउँछन् ।