Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रदेश २ ले बनायो महाभियोग लगाउने कानुन

Sunday, August 11, 2019 National Power

जनकपुरधाम- प्रदेश २ ले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई महाअभियोग लगाउन सक्ने कानुन बनाएको छ । प्रदेश सभा कार्य सञ्चालन नियमावलीलाई संशोधन गर्दै महाभियोग लगाउने कानून ल्याइएको हो । संशोधन गरिएको नियमावली शनिबारको प्रदेशसभा बैठकले सर्वसम्मत पारित गरेको छ । अब संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव भएको तथा खराब आचरण भएका सार्वजनिक पद धारण गरेका व्यक्तिलाई महाअभियोग लगाएर हटाउने बाटो खुलेको छ ।

प्रदेशसभामा कायम सदस्य संख्याको एक चौथाइले प्रदेश कानूनबमोजिम महाभियोग लगाउन पाउनेछन् । महाअभियोगको लगाउनु पर्नाको आधार र कारणसमेत खुलाई प्रदेशसभा सचिवमा प्रस्ताव दर्ता गर्नुपर्ने, उक्त प्रस्ताव सचिवले सभामुख समक्ष पेश गर्ने र प्रस्ताव दर्ता भएको सात दिनभित्र प्रदेशसभामा छलफल हुने गरी दिन र समय तोक्ने नियम बनाइएको छ ।

प्रदेशसभाको अधिवेशन चालू नरहेको अवस्थामा प्रस्ताव पेश गर्ने सदस्यले प्रस्ताव दर्ता भएको मितिले बढीमा १५ दिनभित्र बैठक बस्ने गरी संविधानको धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशन आह्वानको माग गर्नुपर्ने हुन्छ । यसो गर्दा अधिवेशन प्रारम्भ भएको तीन दिनभित्र बैठकमा महाअभियोगको प्रस्ताव उपर छलफल हुने गरी दिन र समय तोकिनेछ ।

तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक र सदस्यले महाअभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन् । र, निजले चाहेमा प्रस्ताव पेश गर्नुअघि बक्तव्य दिन सक्नेछन् । महाभियोगको कारबाही प्रारम्भ भएपछि आरोपितले त्यस्तो कारबाहीका टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैनन् ।

महाभियोग सिफारिस समिति बनाइने

प्रदेश कानून बमोजिमको कुनै व्यक्तिविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भएरनभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि प्रदेशसभामा महाभियोग सिफारिस समिति बनाइनेछ । प्रदेशसभाका ९ जना सदस्यहरु समितिमा रहनेछन् ।

यो समितिले महाभियोग लागेका व्यक्तिलाई सफाई पेश गर्न सात दिनको समय दिई अनुसन्धान गर्नेछ । सफाइ सन्तोषजनक नभएमा वा तोकिएको म्यादभित्र त्यस्तो पदाधिकारी आफैं उपस्थित भई कुनै सफाइ पेश नगरेमा महाभियोग सिफारिस समितिले आफ्नो सिफारिससहितको प्रतिवेदन सदनमा पेश गर्नेछ । यद्यपि समितिले कारबाही प्रारम्भ गरेको ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेश गरिसक्नुपर्ने हुन्छ ।

महाभियोगको प्रस्तावमा छानबिन भई प्रमाणित भएमा र प्रदेशसभामा दुई तिहाइ बहुमतबाट पारित भएमा महाअभियोग लागेका व्यक्ति स्वतः पदमुक्त हुने छन् । ‘महाभियोगको प्रस्ताव पारित भई पदमुक्त भएका व्यक्ति सार्वजनिक पदमा रहँदा कुनै कसूर गरेको भए त्यस्तो कसूरमा प्रचलित कानूनबमोजिम कारबाही गर्न बाधा पर्ने छैन,’ संशोधित नियमावलीमा लेखिएको छ । महाअभियोग लागेर हटेको व्यक्तिले कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्त वा मनोनयन हुन सक्ने छैन ।