काठमाण्डौ- योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङमा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रुपमा जन्मिएका हन् । उनका दाजु मात्रिका भट्टराई नेकपाको जिल्ला नेता छन् । उनका तीन दिदीबहिनी छन् । पत्नी विन्दा घिमिरे पेशाले नर्स हुन् ।
०३७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका योगेश तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्ष भएर पार्टी राजनीतिमा स्थापित भएका हुन् । उनी ०४३ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति भएका थिए । त्यसपछि उनी राजनीतिमा उदाए । अनेरास्ववियुको सचिव, महासचिव हुँदै दुईपटक अध्यक्ष भए ।
नेकपा एमालेको उपत्यका सचिव हुँदै केन्द्रीय सदस्य र सचिवसम्म बनेका उनी हाल नेकपाको स्थायी कमिटी सदस्य छन् । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका भट्टराई ०७४ भने आफ्नै जन्मस्थल ताप्लेजुङबाट फराकिलो अन्तरले विजयी भए ।
सुरु भयो भट्टराईको अग्निपरिक्षा
नेतृत्वले दिएको जिम्मेवारी जतिसुकै चुनौतिपूर्ण भए पनि पार लगाउने योगेशको क्षमता अब मन्त्रीका रुपमा परीक्षण हुनेछ । पार्टी्भित्र उनको लोकप्रिय छवि कामबाटै बनेको हो । विपक्षीहरुबीच पनि लोकप्रिय हुने उनको स्वभाव अब मन्त्री भएपछि हरेक दिन दाउमा लाग्नेछ । पार्टी्भित्र र बाहिर उनको जुन छवि बनेको छ, सिंहदरबारबाट फर्किँदा त्यो कायम राख्न सक्नु नै उनका लागि अबको ठूलो चुनौति हुनेछ ।
अहिलेसम्म योगेश राजकीय पदमा पुगेका थिएनन् । उनलाई साथ सहयोग गर्नेहरु देशभर धेरै छन् । योगेश दिने पदमा नपुगेकाले पनि हुनसक्छ, उनी सबैका प्रिय छन् । तर, मन्त्री पद यस्तो हो, उनलाई विगतमा साथ सहयोग गरेका मान्छेहरुका अनेक आकांक्षाहरु पूरा गरिदिनुपर्छ । तर, मन्त्रीले त्यो गर्न सक्दैनन् । प्रायः मान्छेका व्यक्तिगत काम हुन्छन्, ती पूरा नहुँदा हिजोको साथ मन्त्री भएर फर्किंदा टाढिइसकेको हुन्छ ।
योगेशले आफ्ना शुभचिन्तक र साथ सहयोग गर्नेहरुलाई मन्त्रीका सीमितता बुझाउन सके भने अलग कुरा हो, नत्र मन्त्री नहुँदा आर्जन गरेको लोकप्रियता मन्त्री भएपछि कायम राख्न जतिसुकै लोकप्रिय नेतालाई पनि कठिन हुने गरेको छ ।
यो कठिन परीक्षामा अब योगेश भट्टराई पास हुन्छन् कि हुँदैनन् ? यो उनका कामबाटै प्रष्टिने छ । तर, यतिचाहिँ अहिल्यै भन्न सकिन्छ-व्यक्तिका आकांक्षासँग उनले आफ्नो इमान डग्मगाउन नदिउन् । किनभने, राजनीतिको राजमार्गमा उनको गन्तव्य पर्यटन मन्त्रालयमा टुंगिनेवाला होइन ।
के के हुन त रविन्द्रले गरेका अधुरा काम ?
भ्रमण वर्ष २०२० रवीन्द्र अधिकारीको सपना थियो । उनले थालेका तर परिणाम आउँदै गरेका वा रोकिएका धेरै कामहरु बाँकी छन् । योगेशले देशको समृद्धि, रवीन्द्रको सपना र आफ्नै राजनीतिक भविश्यलाई ध्यान दिएर अघि बढे भने उनी मन्त्रीका रुपमा सफल हुनेछन् ।
अब योगेशलाई सफल बनाउने र जोगाउने जिम्माचाहिँ आजसम्म उनलाई साथ दिएका र केही नलिएका शुभेच्छुक तथा सहयोगीहरुकै हो । तर, मौका यही हो भनेर उनलाई धेराबन्दी गरियो भने योगेशले राम्रो काम गर्न पाउने छैनन् र आम जनताले आशा गर्ने नेताको संख्या पनि घट्दै जाने र सबै उस्तै हुन् भन्ने निराशा फैलिनेछ ।
ओलीले योगेशलाई मौका मात्र दिएका छन् र उनको परीक्षणसमेत गर्न खोजेका छन् । उनी जनता, कार्यकर्ता र प्रधानमन्त्री सबैको निगरानीमा छन् । योगेशको परीक्षा सुरु भएको छ ।
पर्यटन मन्त्रालय यसै पनि विवादमा तानिइरहने मन्त्रालय हो । लाउडादेखि अहिलेको वाइडबडी विमान खरिदसम्म आइपुग्दा यो मन्त्रालय सम्हाल्न पुगेका धेरै मन्त्रीहरुको व्यक्तित्व खुइलिने गरेको तीतो इतिहास छ ।
नेपाल वायु सेवा निगमको सफलता–असफलतासँग पनि जोडेर हेर्ने गरिएको यो मन्त्रालय सम्हाल्दै गर्दा योगेशका लागि निगमको व्यवस्थापनमा क्रान्ति गर्नुपर्ने अप्ठ्यारो गृहकार्य सामुन्नेमै खडा छ ।