Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

वैदेशिक रोजगारीको नाममा तीन दर्जन युवा ठगिए

Monday, July 29, 2019 National Power

रासस- वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन दर्जन युवालाई विदेश पठाइदिने भन्दै करोडौँ रकम असुलेर बेपत्ता भएपछि आफूहरु ठगिन पुगेको पीडित युवाको गुनासो रहेको छ ।

जिल्लाका पीडितमध्येका हरिबहादुर कार्कीका अनुसार कसैलाई युरोप, कसैलाई दुबई र अफगानिस्थान पठाइदिने भनेर आफूहरुबाट रु अढाइ लाखदेखि चार लाखसम्म रकम उठाएर मगर र थापा अहिले सम्पर्कविहीन भएका छन् । अर्का पीडित अमृत आलेमगरले काठमाडौँस्थित सिनामङ्गलमा रहेको भेरी ओभरसिज मार्फत आफूहरुलाई विदेश पठाइदिने भन्दै आफूहरुबाट रकम असुलेर उनीहरु अहिले सम्पर्कविहीन भएको कारण आफूहरुको रकम डुबेको बताए ।

केही पीडित युवाले न्यायको लागि जिल्ला प्रशासन उदयपुरमा समेत निवेदन दिएको र आफूहरुलाई ठगी गर्नेविरुद्ध कारवाहीको लागि निवेदन दिएको बताउँछन् । यस विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का भन्छन्, “केही युवा आफूहरु ठगिएको गुनासो लिएर प्रशासनमा आएको तर पठाउने कम्पनी आधिकारिक हो कि हैन, ती पठाउने व्यक्ति सम्बन्धित कम्पनीका हुन् कि हैनन भनेर बुझ्न र आधिकारिकता र कारवाहीका लागि क्षेत्रीय श्रम कार्यालय विराटनगरमा जान सुझाव दिएको छु ।”

पीडित युवामा जिल्लाका विभिन्न स्थानका इन्द्र मगर, रामबहादुर मगर, गोविन्द मगर, सुपबहादुर मगर, अम्बर रिमाल, अमृत आले, हरिबहादुर कार्की, डम्बर मगर रहेका छन् । त्यसैगरी राजेश श्रेष्ठ, पूर्णथापा मगर, रामकुमार मगर, खगेन्द्र मगर, बमहादुर राईसहित तीन दर्जन युवा वैदेशिक रोजगारी पठाइदिने नाममा दलालबाट ठगिन पुगेको पीडितले बताएका छन् । विदेश पठाइदिने भन्दै पटक–पटक सबैबाट रु चार लाखसम्म रकम सङ्कलन गरेर अब तयारी रहनु भनेर उनीहरु हाल मोबाइलसमेत स्विचअफ गरेर बेपत्ता भएपछि आफूहरु ठगिएका रहेछौँ भनेर जानकारी भएको पीडित युवाले बताएका छन् ।