Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

रसुवागढीको सुरुङबाट १७ जनाको उद्धार, सबै सकुशल

Friday, June 21, 2019 National Power

काठमाडौं – निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए ।

बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए । सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए ।

‘सबै १७ जनालाई बिहान ७ बजे सकुशल उद्धार गरिएको छ । उहाँहरु खतरामुक्त भएकाले आत्तिनुपर्ने अवस्था केही पनि छैन,’ डिएसपी ढकालले – भने, ‘माथिबाट सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले माथि हेर्दै, बाहिर निकाल्दै गरियो ।’

सुरुङ क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । त्यसैले अहिले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन् । तर, भौतिक क्षतिको विस्तृत विवरण भने आइसकेको छैन । अडिट-४ टनेलभित्र कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेटभित्रै खोज तथा उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।