Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

आफ्नै बच्चा खोलामा फाल्ने आमा पक्राउ, गर्भवती भएको थाहा पाएपछि प्रेमीले छाडेका थिए

Saturday, June 8, 2019 National Power

प्रहरीले आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले गएको चैत २ गते आफैँले जन्मदिएको शिशु बालकलाई मावाखोला बाँसखारीमा छाडेर भागेकी आमा माया राईलाई पक्राउ गरेको हो । मोरङ उर्लाबारी नगरपालिका–६ स्थित नवनिर्मित बसपार्क छेउनजिकै मावाखोलाको किनार काँसघारीमा फालिएको अवस्थामा २०७५ चैत २५ गते शिशु फेला परेको थियो ।

लगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले बेबारिसे अवस्थामा भेटिएको त्यो नाबालक शिशुलाई उद्दार गरी उपचारको लागि गोदावरी हस्पिटल पठाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । बेबारिसे अवस्थामा भेटिएको बच्चाको आमा को हुन् भनेर खोजतलास गर्दै जाने क्रममा इलामको माङसेबुङ गाउँपालिका–६, स्थायी घर भई उर्लाबारी नगरपालिका–६ पानीट्याङकीका अमृत तामाङको घरमा बस्दै आएकी अन्दाजी ३० वर्षीया माया राई रहेको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

नाबालक शिशुलाई गोदावरी अस्पतालबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो । लामो समय खोजी गर्दा पनि फेला नपरेकी नाबालक शिशुको आमा माया राई पछि नोबेल अस्पतालमा आफैँ उपस्थित भएकी थिइन् । नोबेल अस्पतालमा उपचारको क्रममा नवजात शिशुको चैत २८ गते उपचारका क्रममा मृत्यु भएपछि लगत्तै शिशुकी आमा माया राई अस्पताल परिसरबाट भागेकी थिइन् ।

फरार भएकी मायाविरुद्ध वैशाख २ गते इलाका प्रहरी कार्यालय उर्लाबारीले मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको प्रवक्ता श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । प्रहरीले भने मायाको खोजीकार्य जारी नै राखेको थियो । प्रहरीलाई केही दिनअघि मात्र माया रतुवाखोला किनारामा रहेको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आइरहेको भन्ने सूचना प्राप्त भएको थियो । सोही गोप्य सूचनाको आधारमा मायालाई प्रहरीले उर्लाबारी–५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मायाले २०७५ असारमा काठमाडौँमा भेट भएका एक व्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही समय उर्लाबारीमा प्रेमीसँग बस्दै आएकी माया गर्भवती भएको थाहा पाएपछि छाडेर भागेको बताइएको छ । पक्राउ परेकी मायालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।