Monday 12th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

तिलगंगा-गुह्येश्वरी सडक सधैंका लागि बन्द

Wednesday, May 15, 2019 National Power

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा क्षेत्रमा सञ्चालनमा रहेको तिलगंगा-ताम्रगंगा (गुह्येश्वरी निस्कने) सडक सधैंका लागि बन्द गरेको छ । सर्वोच्च अदालतले आदेश दिएको ३ वर्षपछि बल्ल सडक बन्द भएको हो । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को० ले ७ वर्षअघि नै यो सडकमा सवारी अवागमन नरोकिएमा विश्व सम्पदा सूचीबाट पशुपतिलाई हटाउने चेतावनी दिएको थियो ।

सन् २०१३ मानै बन्द हुनुपर्ने यो सडक पशुपति क्षेत्रको सुरक्षा बार लगाउने काम हुँदै गर्दा बन्द गरिएको हो । पशुपति क्षेत्रलाई सुरक्षा बारभित्र समेट्ने क्रममा स्वतः यो सडक बन्द भएको कोषका सदस्य सचिव प्रदीप ढकालले बताए । ‘अब यो सडकमा सवारी गुड्दैनन्,’ ढकालले भने, ‘धेरै पक्षको चासो र चिन्ताको विषयका रुपमा रहेको यो सडक बन्द गरेका छौं ।’

यो सडकले पशुपति क्षेत्रमा भू-क्षय समेत निम्ताएको थियो । यसैलाई देखाएर कोषले श्लेष्मान्तकमा कंक्रिटसहितको कुलो निर्माण गर्न खोजेको थियो । तर, सडक नै बन्द गर्नुपर्ने भन्दै सम्पदा अभियन्ताले चर्को रुपमा काम गरिरहेका थिए । युनेस्कोले सो सडक बन्द गर्न चेतावनी दिए पनि सरकारले वैकल्पिक सडकको व्यवस्था गर्ने भन्दै अटेर गर्दै आएको थियो ।

२०७१ मा अधिवक्ता तुलसी सिंखडाले सर्वोच्चमा रिट हालेर सडक बन्द गर्न आदेश मागेका थिए । न्यायाधीश आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ मा सडक बन्द गर्न आदेश जारी गरेको थियो । यो सडकबाट दैनिक ट्रक, ट्रिपर र पानी बोक्ने ट्यांकसहितका सवारी गुड्ने गरेका थिए । बालुवायुक्त सडकमा भारी सवारी गुड्दा यसले पशुपति क्षेत्रका सम्पदामा क्षतिको जोखिम बढाएको थियो ।

यही सडकमा कारण श्लेष्मान्तकमा भूक्षय बढेको निश्कर्ष विज्ञहरुले नै निकालेका थिए । यस्तो भूक्षयले विश्वरुपा मन्दिर नै चर्किन थालेको छ । यही भूक्षय रोक्ने भन्दै माथिबाट कुलो खन्न खोजिएको थियो । प्राचीन स्मारक संरक्षण ऐन र अदालतको आदेश विपरित सञ्चालनमा रहेको सडकलाई बन्द गरिएको सदस्य सचिव ढकालले बताए ।

२०६४ सालमा तिलगंगाबाट गुह्येश्वरीसम्मको जंगलमा ६ सय ७५ मिटर लामो र ७ मिटर चौडाइको कच्ची सडक खोलिएको थियो । भौतिक योजना तथा निर्माण मन्त्रालयले नै यो सडक खोलेपछि विरोध सुरु भएको थियो । जग्गा दलालसँग सरकारी अधिकारीले साँठगाँठ गरेरै यो सडक खुलाएका थिए । गौशाला(चाबहिल खण्डको सवारी चाप व्यवस्थापन गर्न भन्दै खोलिएको सडक अन्ततः संरक्षणको सिद्धान्त अनुरुप बन्द भएको छ । सरकारले त्यतिबेला यो स्थानमा सुरुङमार्ग समेत बनाउने योजना ल्याएको थियो ।

त्यतिबेला हिसिला यमी पर्यटन मन्त्री थिइन् । सरकारले त्यसका लागि लुम्बिनी पीएस र गोल्डेन गुड जेभीलाई ठेक्का दिएर ६५ लाख रुपैयाँ ‘मोबिलाइजेसन’ शुल्क दिएको थियो । तर, पुरातत्व विभाग नै सो सडक र सुरुङमार्गको विपक्षमा उभिएको थियो ।

सन् २०११ मा विश्व सम्पदा कमिटीमा यहाँ सुरुङमार्ग खोल्ने प्रस्ताव अस्वीकृत भएको थियो । सन् २०१२ मा सोही कमिटीको ३६ औं बैठकले बाटो बन्द गर्न एक वर्षको समय दिएको थियो । त्यतिबेला युनेस्कोले पनि विश्व सम्पदासूचीबाटै हटाउने चेतावनी दिएपछि सरकार केही पछि हटेको थियो । तर, सडक भने बन्द गरिएको थिएन ।

मुद्दा अदालतमा पुगे पनि सर्बोच्चले यो बाटो बन्द गर्न आदेश दिनुअघि टोली नै खटाएर बाटोको अध्ययन गराएको थियो । सहरजिस्ट्रार नृपध्वज निरौला संयोजकत्वको टोलीले निर्माणको काम बन्द भएपनि बाटोमा आवतजावत सुचारु राखिएको रिपोर्ट दिएपछि त्यसलाई पनि रोक्न सर्वोच्चले आदेश गरेको थियो । ‘हामी पशुपति क्षेत्रलाई पुरै सुरक्षा बार लगाएका छौं । त्यही क्रमम यो सडक बन्द भएको छ,’ सदस्य सचिव ढकालले भने, ‘यो सडक बन्द भएपछ पशुपति क्षेत्र थप संरक्षित र सुरक्षित हुनेछ ।’

अदालतले श्लेष्मान्तक बचाउन मृगस्थली र श्लेष्मान्तकमा भूक्षय रोक्न माटो भरेर टेवा पर्खाल पनि कोषलाई भनेको थियो । सो क्षत्रेमा वृक्षरोपण अघि बढाउन, कंक्रिट संरचना हटाउन र मृगस्थली र श्लेष्मान्तक क्षेत्रका ऐतिहासिक कुण्डहरु फेरि पुनर्निर्माण गर्न पनि आदेश भएको थियो । तर, अझै अधिकांश काम भएका छैनन् ।

अनलाईन खवरबाट साभार