काठमाण्डौ – राष्ट्रिय जनता पार्टीका महामन्त्री एवम् प्रदेश सभा सदस्य मनिष सुमनले यो सरकार संघीयताविरोधी रहेको आरोप लगाएका छन् । उनले सरकार पूर्ण रुपमा असफल भैसकेको बताए । उनले भने,‘अहिलेसम्म अन्तरप्रदेश परिषदको बैठक बस्न सकेको छैन् । मुख्यमन्त्रीहरु एक ठाउँमा भेला भएर चिया पिउनुभयो भने केन्द्र सरकारको कुर्सी हल्लिन्छ ।’
संघीय कानुन बनाउनुपर्ने बेलामा केन्द्र सरकारले नेपाल प्रहरीलाई निर्देशानात्मक आदेश दिएको भन्दै उनले सरकारको कडा विरोध गरे । ‘यो देशको कर्मचारीतन्त्र संघीयताविरोधी छ’–सुमनले भने,‘अहिले २ नम्बर प्रदेशलाई २५ सय कर्मचारी चाहिएको छ । तर, अहिलेसम्म तीन सयपनि कर्मचारी पुगेका छैनन् । यसो गर्नु भनेको केन्द्र सरकारको प्रदेश सरकारलाई विफल पार्ने कुत्सित मनशाय हो ।’
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज सय दिन नाघिसक्दापनि सरकारले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको असफलता सुनाए । उनले भने,‘यत्रो दुई तिहाई बुहमतको सरकारको नेतृत्व गर्नुभएको प्रधानमन्त्रीले यसरी निरिहता प्रकट गर्नुहुँदैन् । रारा तालको हावा खाएरमात्रै देश चल्दैन् ।’
आफूहरुले सरकारलाई दिएको समर्थन समाप्त भैसकेकोजस्तै भएको बताउँदै अब बस्ने पार्टीको जुनसुकै बैठकले समर्थन फिर्ता लिएको सानो सूचना दिने पनि उनले जनाए ।
समाचार साभार रिपोटर्स क्लव नेपाल