Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

पावर ‘ब्याकअप’ कुलेखानीको पानीको सतह १५ सय २६ मिटरमा

Friday, November 2, 2018 National Power

१६ कात्तिक, काठमाडौं – कुलेखानी जलाशय पानीको सतह यो वर्ष अघिल्ला वर्षहरुभन्दा धेरै छ । त्यसैले विद्युत् प्राधिकरणका अधिकारीहरु हिउँदका लागि निश्चिन्त देखिएका छन् । कुलेखानीमा पानीको सतह अहिले १५ सय २६ मिटरमा छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यो वर्ष हिउँदमा कुलेखानीले लोड व्यवस्थापनमा अझ महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । पानीको सञ्चिति बढ्नुको कारण हो, अहिलेसम्म कुलेखानी आयोजनाको प्रयोग गर्न आवश्यक नपर्नु ।

आयोजना सुख्खायाममा लागि ‘ब्याक अप’का रुपमा राखिने गरेको छ । अहिले प्राधिकरणले विद्युत नपुग र इमर्जेन्सी भएको अवस्थामा मात्रै उत्पादन गर्ने गरेको छ । प्रसारणलाइन बिग्रँदा वा सब(स्टेसनमा गडबडी आउँदा प्राधिकरणले यो आयोजना सञ्चालन गरेर विद्युत आपूर्ति गर्ने गर्छ । आपतका बेलामा सञ्चालन गर्न सकिने ‘रिजर्भवायर प्लान्ट’ प्राधिकरणसँग यो एक मात्र उपलब्ध छ । सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।प्राधिकरणले वर्षामा कहिलेकाहीं एकदेखि डेढ घण्टासम्म चलाउँछ । प्रायः पुसको अन्तिमदेखि मात्रै यो सञ्चालनमा आउँछ । सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

‘गत वर्षको तुलनामा पानी अझ बढी छ । यसलाई अहिले सञ्चालन गर्नुपर्ने स्थिति छैन, त्यसैले बचाएर राखेका छौं,’ प्राधिकरण कार्यकारी निर्देशक घिसिङले भने । देशका अधिकांश जलविद्युत आयोजना ‘रन अफ दी रिभर’मा आधारित छन् । कुलेखानीपछि अहिलेसम्म कुनै जलाशययुक्त आयोजनाको निर्माण हुन सकेको छैन । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना वर्षौंदेखि विवादमा रुमल्लिएको छ ।

सोही कारण सुख्खायाममा नदीमा पानीको सतह कम हुनासाथ विद्युत उत्पादन ह्वात्तै तल झर्ने गरेको छ । भारतबाट आयातित बिजुलीबाट उपभोक्ताको माग धान्नुपर्ने अवस्था सोही कारण उत्पन्न भएको हो । प्राधिकरण र निजी क्षेत्रको गरी अहिले नौ सय ५६ मेगावाट स्वदेशी उत्पादन छ । ९२ मेगावाटको कुलेखानी सुख्खायामबाहेक प्रयोग गरिँदैन ।माग र आपूर्तिबीच ठूलो ‘ग्याप’ रहँदा उपभोक्ताको घरमा बिजुली बाल्ने उद्देश्यले कुलेखानीलाई ‘रिजर्भवायर’का रुपमा सञ्चित राख्ने गरिएको हो ।

कुलेखानीको जलाशयबाट प्राधिकरणले ६० र त्यहाँबाट बाहिरिने पानीबाट ३२ मेगावाट मेगावाट उत्पादन गर्छ । आगामी पुसबाट कुलेखानी तेस्रोबाट १४ मेगावाट पनि उत्पादन सुरु हुनेछ । विद्युतको उच्च माग हुने साँझ पाँचदेखि राति आठ बजेसम्म ती आयोजना सञ्चालन हुने गर्छन्, सुख्खायाममा । कुलेखानी दोस्रोबाट बाहिरिने पानीबाट पनि विद्युत उत्पादन गर्न कुलेखानी तेस्रो निर्माणाधीन छ । ठेकेदार कम्पनीको बदमासीका कारण हालसम्म उक्त आयोजनाको निर्माण सम्पन्न हुन ढिलाइ भएको छ । आगामी पुसबाट परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।