Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

नयाँ नोट आजदेखि पाइने, कहाँ जाने साट्न ?

Sunday, October 7, 2018 National Power

२१ असोज,काठमाडौं – आजदेखि नयाँ नोट साट्न पाइने भएको छ। दशैतिहारका लागि सबै नेपालीले आजदेखि नयाँ नोट साट्न पाउने भएका हुन्। नेपाल राष्ट्र बैंकले यो पालिका लागि नयाँ नोट साट्न उपत्यकाका २२ ठाउँ तोकेको छ।

सरकारी स्वामित्व रहेका तीन बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट सटही गर्न पाइनेछ। नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औधोगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही हुने भएको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, बिशालबजार, नक्साल, कलंकी तथा बालाजु शाखाबाट सटही हुनेछ।

कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु तथा मंगलबजार शाखाबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ। एक व्यक्तिले ५, १०, २० र ५० का दुई बण्डल तथा १ सयको १ बण्डल गरी २७ हजार रुपैयाँसम्म सटही गर्न पाउने छन्।

असोज २१ गतेदेखि २९ गतेसम्म बैंकिङ समयमा नोट वितरण हुनेछ। उपत्यकाबाहिर राष्ट्र बैंकका बिराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी शाखा कार्यालयबाट नोट सटही हुनेछ।

यस वर्ष करिब १३ अर्बको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान छ। गत वर्ष १२ अर्बको सटही भएको थियो। गत वर्ष तीन बैंकहरुका शाखाबाट प्रतिव्यक्ति २० हजारसम्म साट्न पाउने व्यवस्था भएकोमा यो वर्ष २७ हजार पुर्याइएको हो। हाल चलनचल्तीमा रहेका नोटमध्ये संख्यात्मक हिसावमा ५ का नोट सबैभन्दा धेरै छन्। ५ का नोट ४८ करोडको संख्यामा चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ।

साथै राष्ट्र बैंकले नोटको जतन गर्न, केरमेट नगर्न तथा कुनै पनि तवरले क्षति नपुर्याउन सबैलाई आग्रह गरेको छ। त्यस्ता कार्य गरेमा मुलुकी अपराध ऐनअन्तर्गत ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ।