४ असोज, काठमाडौं – सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांसदहरुको हस्ताक्षर संकलन गरको छ । नेकपाका प्रमुख सचेतक देव गुरुङले सांसदहरुलाई संसदको शंकर हलमा बोलाउँदै खाली कागजमा हस्ताक्षर गराएका हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किए लगतै संसदीय दलका उपनेता सुवास नेम्वाङले परामर्श गरेका थिए । त्यसलगतै हस्ताक्षर संकलन सुरु भएको हो ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिसँगै सर्वोच्च फर्किएका जोशीले राजीनामा दिने बचन तोडेको नेकपाको आरोप छ । सर्वोच्च र्फकनुअघि कानुनमन्त्री भानुभक्त ढकाललाई भेटेका जोशीले एकाध मुद्दा हेरेपछि राजीनामा दिने बताएको नेकपाको दाबी छ । तर, आफ्नो बचन तोडेर जोशीले नेकपालाई अप्ठ्यारोमा पारेको भन्दै महाअभियोगको तयारी सुरु भएको हो । ‘हस्ताक्षर संकलन भइरहेको छ । तर, आजै दर्ता हुँदैन’ संसदीय सुनुवाई समितिका सदस्य समेत रहेका एक सांसदले भने ।
स्रोतले भने राजीनामाका लागि जोशीलाई दबाव दिन हस्ताक्षर संकलन गरिएको बताएको छ । यद्यपि राजीनामा नदिए महाअभियोग दर्ता गर्ने योजना छ । प्रतिनिधिसभाका २५ प्रतिशत सदस्यले महाअभियोग प्रस्ताव दर्ता गराउन सक्छन् । सत्तारुढ नेकपा गठबन्धनसँग महाअभियोग पारित गराउने दुई तिहाई बहुमत संसदमा छ । नेकपा सांसदहरुकै पहलमा संसदीय सुनुवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । त्यसपछि घरविदा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि फेरि सर्वोच्च फर्किएर मुद्दा फैसला गर्न थालेका छन् ।