२४ साउन, अरबिन्द्र गौतम /काभ्रे – वर्षात् सुरु भएसँगै ०७२ सालको भूकम्पमा चिराचिरा परेका डाँडाबाट पहिरो जान थालेपछि काभ्रेका आधा दर्जन बस्ती उच्च जोखिममा परेका छन् । पहिरो कै कारण बुधबार विहान १८ महिने एक बालकको मृत्यु भयो भने जिल्लाका १७० भन्दा बढी परिवार विस्तापित भएका छन् । जिल्लाको मण्डनदेउपुर १० ज्याम्दीका ३१ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।
जस मध्ये १८ घरपरिवार कालिका आधारभूत विद्यालयमा स्थानान्तरण भैसकेका छन् भने स्थानीय बेसी गुम्बामा ७ घर स्थानान्तरण भैसकेका छन् । बुधबार बिहान स्थानीय हेमबहादुर तामाङको घर पहिरोले पुरिँदा उनका १८ महिने छोरा दीपक तामाङको थिचिएर मृत्यु भएको थियो ।
त्यस्तै जिल्लाको भुम्लुगाउँपालिका(१ सापिङ रिठ्ठे देउरालीमा १४० परिवार विस्तापित नै भैसकेको छ । उच्च जोखिमपछि स्थानीय प्रशासनको सहयोगमा केही परिवारलाई सेतिदेवी माविमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा बाढी र पहिरोबाट हुनसक्ने क्षती र त्यसपछिको उद्दारका हाइअलटमा प्रहरी खटिएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले बताए ।
०७२ सालमा चर्किएको ज्याम्दी, हल्देटार, सापिङ लगायतका डाडाहरु चर्किएका थिए । छियाछिया बनेका डाडा कमजोर भै पहिरो खसेको स्थानीय सत्यलाल तामाङले बताए । पहिरो पीडितहरुका लागि मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाले सुरक्षित स्थानको पहिचान गरि उनीहरुलाइ स्थानान्तरणका लागि पहल गरिरहेको छ । तथापि, राहतका लागि कुनै निकायले चासो नदिएको उनीहरुको गुनासो रहेको छ ।