२ साउन, गोरखा – गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए । रातीदेखि परेको अबिरल बर्षाका कारण पहिरो खस्दा उनीहरु बसेको कोठा पहिरोले पुरीदाँ तीनजनाको मुत्यु भएको हो ।
बुधबार बिहान करिव ६ः ३० बजेतिर पहिरो गएको थियो । कुँवरकी भान्जी सरु पुजा निम्तो मान्न मामाघर गएकी थिइन् । पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको स्थानीयले बताएका छन् । यता, जिल्ला प्रहरी कार्यालय गोरखाले भने घटना स्थलतर्फ प्रहरी गइसेकेको जनाएको छ । लगातारको बर्षापछि गाउँका अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानियबासीको भनाई छ । लगातारको बर्षाले त्यस क्षेत्रमा अन्य स्थानमा पनि पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले एकै घरमा ३ जनाको मुत्यु भएपछि अधेरी गाउँ शोकमा डुवेको छ ।
पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित
गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । अविरल वर्षाकै कारण उक्त गाउँका १५ घरसमेत पूर्ण जोखिममा परेका छन् । पहिरोबाट जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । वर्षाकै कारण जलजला गाउँपालिका–७, धाइरिङ, बास्कोट बस्ने भिमलाल आचार्यको घर पहिरोको कारण भत्किएको छ । घर भत्किँदा राति सुतिरहेका छजना घाइते भएका छन् । घाइतेको ढाड भाँचिएको, टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ ।
ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले सुरक्षा निकाय घटनास्थलसम्म पुग्न सकेको छैन । स्थानीयवासीले उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ । अहिले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित सुरक्षा निकाय, रेडक्रसलगायत बन्दोबस्तीका सामान लिएर घटनास्थलमा पुगेको छ । पर्वतमै खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो । खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव १०० मिटर तल भेटिएको स्थानीयवासी सुरेन्द्र गौतमले जानकारी दिए ।
बेनी—मालढुंगा सडक अवरुद्ध
यसैबीच, कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक गएरातिदेखि अवरुद्ध भएको छ ।गएरातिदेखि परेको अविरल वर्षाका कारण जलजला गाउँपालिका–८, लस्तीमा रहेका सांरगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण नजिकै रहेका दुई घरमा समेत क्षति पुगेको छ । त्यस्तै, सडकमा गुडिरहेको ध १ ज ५४२ नम्बरको एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिए । ठूलो वर्षा भएका कारण तत्काल सडक खुलाउन नसकिएको हो । अहिले मिलनचोक प्रहरी चौकी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली पहिरो गएको स्थानमा पुगेर सडक खुलाउन पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक अवरुद्ध हुँदा म्याग्दीको बेनी र हिमालपारिको जिल्ला मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वतको मिलनचोकमा अलपत्र परेका छन् भने अन्यबाट ती जिल्लामा आएका सवारीसाधन खनियाँघाटमा अलपत्र परेका छन् । सडक खुलाउनका लागि एस्काभेटर र डोजर मगाएर पन्छाउने काम भइरहेको छ ।
खोलाले बगाउँदा वृद्धको मृत्यु
पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो । खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव १०० मिटर तल भेटिएको स्थानीयवासी सुरेन्द्र गौतमले जानकारी दिए । विकले मादकपदार्थ सेवन गरेर खोला तर्न पसेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । खोलाले बगाएको स्थान नजिकै झोलुंगे पुल भएपनि उनी पुल नतरी खोलामा तर्न खोजेका कारण दुर्घटना भएको हो । मृतक विकको शव परीक्षणका लागि रातिनै जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ ।