Thursday 17th June 2021

    कर्णालीका १० वटै जिल्ला अस्पतालका लागि प्रारम्भ र फाउण्डेशनको सहयोग    रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले गर्यो राहत वितरण

आफनै कार्यकर्ताले लेखे प्रधानमन्त्रीलाई खुल्ला चिठी

Wednesday, May 30, 2018 National Power


सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू नमस्कार !

तपाईंको शुभचिन्तक तथा पार्टीको कार्यकर्ता भएको हुनाले मनमा लागेका केही असन्तुष्टि र केही सुझाव सहित यो पत्र लेखेको छु, अन्यथा नलिनु होला ।
नेपाली जनताको आशाको किरण यो सरकार कसरी अगाडि बढेको छ । जनताको चासोको विषय बनेको छ । अहिले सम्मकै शक्तिशाली सरकार त्यसमाथि जनताको आशा किरण केपी वली नेतृत्वको सरकारको सुरुवाती अवस्थालाई हेर्ने हो भने चित्त बुझाउने ठाउँ छैन । विगतका अरु सरकारहरु भन्दा भिन्न हुनुपर्छ भन्ने आम जनताको बुझाइ छ । यो अहिले सम्मकै शक्तिशाली वामपन्थी सरकारबाट जनताले निरन्तरताको क्रमभंग चाहेका छन् । चुनावताका जनतालाई देखाइएका सपना अनुसार कार्यशैलीमा परिवर्तन आउनु आवश्यक छ । नाकाबन्दीको विरोध र विकासका सपना, रोजगारी सिर्जना गर्ने कुरा र राष्ट्रियताका सबालमा दरो अडान लिई विकृति अन्त्य गर्ने अठोटको घोषणापत्र अनुसार काम होस् भनेर नै जनताले यी दुई दललाई स्थिर सरकार बनाउन सघाएका हुन् । जसरी जनताले बहुमतका साथ जिताएका छन् त्यसैगरी जनताको अपेक्षा अनुसारको काम यो सरकारले गर्नै पर्छ । अहिलेसम्म कछुवा चाल छाडेको छैन । अस्थिर सरकार हुँदा चार गियरको कुरा गर्नेले दुईतिहाइ बहुमतमा एक गियरमा घ्याँरघ्याँर पारेको सुहाएको छैन ।

यो सरकार माथि जनताका धेरै आशा छन् । शिक्षा क्षेत्रको सिन्डिकेट तोड्दै सबैका लागि सर्वसुलभ र समान शिक्षा हुनु आवश्यक छ । जुन शिक्षाले विद्यार्थी आत्मनिर्भर बन्न सकोस् । कृषि क्षेत्रमा पनि आधुनिकीकरण जरुरी छ । किसानहरुका पीरमर्का बुझिदिनु प¥यो । अहिले बिचौलियाले मात्र फाइदा लिएका छन् । किसानले १० रुपैयाँमा बेचेको तरकारी उपभोक्ताले ९० देखि १०० रुपैयाँमा किन्नुपरेको छ । किसानको पसिनामा बिचौलियाको राज चलेको छ । किसानको लगानी डुुब्नु उपभोक्ताको खल्ती रित्तिनु र बिचौलिया मोटाउनु कानुनसम्मत देखिँदैन । त्यसैले यो विकृतिमा तत्काल हस्तक्षेप गरी सरकारले सही नीति लागू गर्नुपर्छ ।
व्यापार व्यवसाय चौपट छ । सीमित मुठीभरका मानिसले फाइदा लिएका छन् । एउटा निजी विद्यालय खुल्छ । त्यसपछि कपी, कलम, किताब, ड्रेस, टाई, बेल्ट, रिबन, जुत्ता, पेन्सिल, इरेजर आदि समेत स्कुलले नै बेच्छ । विद्यालयले शिक्षा दिने बाहेक व्यापारको पनि इजाजत लिएर कर तिरेको हुन्छ कि यस्ता समस्या निराकरण नभए सम्म हामी जस्ता सर्वसाधारणको व्यापार चौपट हुने नै भयो र राज्यले पाउने कर पनि छलियो । सरकारले यस्ता कर चोरलाई थुन्न ढिला भइसकेको होइन र रोजगारी सिर्जना गर्ने, तस्करहरुलाई समाएर जेल हाल्ने, दलाल र सामन्तीहरुलाई कठघरामा उभ्याउने काममा यो सरकारले गरेको ढिलाइले जनता विचलित हुन थालिसकेका छन् ।
अस्पतालहरुमा पनि त्यस्तै अनियमितता छ । जसको पहुँच छ, उसको सरकारी अस्पतालमा सस्तो उपचार हुन्छ । जसको बोलिदिने मान्छे हुँदैन, सोर्सफोर्स हुँदैन उसले सरकारी अस्पतालमा उपचार पाउनका लागि निकै गाह्रो पर्छ । सिट प्याक छ भन्दै निजीमा सिफारिस गरिन्छ । यसमा सिफारिस गर्नेको कमिसन सुरक्षित हुन्छ रे । कमिसनको लोभमा जथाभावी गर्ने डाक्टरलाई किन कारबाही नगर्ने वैदेशिक रोजगारीमा पनि त्यस्तै भद्रगोल छ । भिसा र टिकट निःशुल्क रे तिर्नुपर्ने एक लाखदेखि एक लाख पचास हजारसम्म अनि भिसा र टिकट निःशुल्क पाएको भनेर कागज गराउने । यस्ता म्यानपावरहरुलाई किन कारबाही गरेको खोई कर्मचारीहरुमा पनि त्यस्तै विकृति छ । समयमा कार्यालय नपुग्ने कर्मचारीहरु बग्रेल्ती देखिन्छन् । समयमा सेवाग्राहीको काम नगरिदिने, एकैछिनमा हुने काम पनि पैसा नदिएसम्म भोलि र पर्सि भनेर दुःख दिने, घुस दिए तुरुन्त काम हुनेखालको विकृति हटाउन सरकार किन अग्रसर हुँदैन हो, काम गर्न समय लाग्छ । फु मन्तर गर्दैमा हुँदैन तर सुरुआत त गर्न सकिन्छ नि । होइन र वर्तमान सरकारका मन्त्रीहरुले आआफ्नो कार्य क्षेत्रको अपरेसन गर्न सुरु गरुन् । समय आउँछ, पर्खिंदैन । जनताले नेताका मायाले भोट दिएका होइनन् । सुन्दर शान्त र समृद्ध नेपाल बन्ने आशामा दिएका हुन् ।

शहर बजारको दैनिकी कति कष्टकर छ सरकारमा बस्नेहरुलाई थाहा नै होला ।बाटोमा गाडीहरू अस्त ब्यस्त गुडेका हुन्छन् । ती गाडीको जामले गर्दा गन्तब्यमा पुग्नको लागी दस मिनेट लाग्ने ठाउँमा घन्टौं लाग्छ । स्कुलको फि अचाक्ली महङ्गो छ । एउटा सामान्य स्कुलमा छोराछोरी पढाउनु पर्यो भने एउटा बच्चाको शुल्क थेगि नसक्नु छ । सरकारी स्कुलमा पढाई राम्रो छैन छोराछोरीको भबिस्य राम्रो हुन्छ कि भनेर निजि स्कुलमा राख्न बाध्य छन अभिभावकहरु सरकारी स्कुलमा गरेको धेरै लगानी बालुवामा पानी भएको छ त्यतातिर ध्यान दिएको खै ।

काठमाडौंका घरधनीको के कुरा गर्नु पैसा त आकाशबाट बर्सन्छ जस्तै गर्छन एउटा कोठाको सात हजार आठ हजार लाजै नमानी भन्छन ।भाडामा मनलाग्दी छ मन लाग्यो कि बढाउने ।सामान्य परिबारको एउटा विद्यार्थीसँग यहाँको महङ्गो जिबन शैलीमा टिक्न सक्ने क्षेमता हुँदैन र पढाई छोडेर बिदेश पलायन हुन्छ या त मानसिक रोगी भएर भौतारिरहेको हुन्छ ।कुनै कुनै जसो तसो ऋणधन गरेर पढाइ सक्यो भने पनि जागीर पाउन पापड बेले जत्तिकै गारो हुन्छ ।दस बाह्र हजारको जागिर पाइहाल्यो भने पनि कोठा भाडा तिर्दैमा ठिक्क हुन्छ ।केले खाने केले लाउने घरमा बुबाआमाको अवस्था कस्तो होला छोरालाइ पढाउछु भन्दा सम्पत्ति सकियो छोराले कहिले कमाउने जिबिको पार्जन कसरी गर्ने ।याबत समस्या बाट जनता गुज्रिएको यो सरकारले देखेजस्तो मलाई अनुभुती भएको छैन। गरिब जनताको पिरमर्का कस्ले बुझ्ने । रेल र पानी जहाज भन्दा पहिला यी साना साना काम जसले गरिब निमुखा जनताको घाउमा मलमपट्टी लगाउन सके मात्र कम्युनिस्ट सरकारको औचित्य रहने छ । जनताले जयजयकार गर्ने छन । गुन्डागर्दीको शैलीमा ठेक्कापट्टा लिने र समयमा काम नगर्ने ठेकेदारहरुलाई खै कारबाही गरेको यो सरकारले सबैभन्दा पहिले पार्टीभित्रका अपराधीहरुलाई कारबाही गरोस् । कम्युनिस्ट पार्टीको सदस्यता लिएको छ तर जनताको शोषण गरेर अर्बपति, खर्बपति भएको छ, त्यस्तालाई कारबाही सुरु गरिहाल्नुस् पाटीभित्रको भ्रष्टाचार निर्मूल पार्ने कि नपार्ने रु मिठा कुरा गरेर गरिब जनतालाई चुस्न पल्केका हाम्रै पार्टीका शोषकहरुलाई कारबाही गर्ने कि नगर्ने सम्पत्ति एकाएक कहाँबाट आउँछ ।

२–४ वर्षअघिसम्म सम्पत्ति नभएका कार्यकर्ताले पाल्नुपर्ने नेताका कसरी बने आलिसान महल त्यसको छानबिन खै गरेको हुँदा हुँदा अहिले त चुनावसम्म मेरो नाममा केही छैन भन्ने, सम्पत्ति जति श्रीमती, छोराछोरी, ससुराली, मावलीतिर राख्ने । चुनाव खर्च सर्वसाधारणसँग उठाउने, सरकारमा जाने तर सिन्को नभाँच्ने, कसरी कमाउन सकिन्छ ध्यान त्यतातिर मात्र छ । प्राप्त भएका अवसरहरु जति आफ्नै श्रीमती, छोराछोरी, सालासाली र आफन्तजनलाई पोस्ने, एनजीओ र आइएनजीओमा नाता गोतालाई घुसाउने तर दिनरात खटेका कार्यकर्ताहरुका लागि केही नगर्ने त्यस्ता बद्मासहरुलाई अब त्यसै छाड्नुहुँदैन । यो सरकारले तुरुन्त जाली फटाहा सुधार्नका लागि अपरेसन सुरु गरोस् । अहिलेसम्म ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तो भएको छ । अब त्यस्तो नहोस् । यो सरकारका प्रधानमन्त्री र अन्य मन्त्रीहरुले आआफ्नो क्षेत्रको काम, कर्तव्य इमान्दारीपूर्वक जनताको पक्षमा गर्नु जरुरी छ । इतिहास रच्ने मौका पाउनुभएको छ, यो मौका गुमाउनुभयो भने इतिहासले त धिक्कार्ने छ नै । आफू पनि पछुताउनुपर्ने छ । त्यति मात्र नभएर जनताले तपाईंहरुमाथि गरेको विश्वासको पुल भत्कने छ । त्यसैले म सर्वसाधारण आम जनताका तर्फबाट सजग पार्न चाहन्छु ।
गायक मोतीराज खनाल, सितगंगा २ , दमार, अर्घाखाँची

यो विचार लेखकमा निहित